कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य पदमा ९१ वर्षीया कार्कीको उम्मेदवारी

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य पदमा ९१ वर्षीया कार्कीको उम्मेदवारी



काठमाडौं, २५ मंसिर । काठमाडौंको राष्ट्रियसभा गृह चारतारे र रुख अंकित झण्डाले सजिएको छ । झण्डामुनि कांग्रेस निर्वाचन समितिका सदस्यहरू उम्मेदवारी दर्ताका लागि लहरै बसेका छन् ।

त्यही लहरमा हातमा १० हजार रुपैयाँ बोकेर नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्दै गरेकी भेटिइन्, पर्साकी ९१ वर्षीया शान्ति कार्की ।

कार्की त्यस्ती प्रतिनिधि हुन्, जुन तराईबाट प्रतिनिधित्व गर्छिन् । तर, उम्मेदवारी भने महिला तर्फको खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिइन् ।

महाधिवेशन प्रतिनिधिमध्ये सम्भवतः सबैभन्दा जेठी कार्कीलाई अझै कांग्रेसलाई जनताको पार्टी बनाउने रहर छ । त्यसैले भन्छिन्, ‘कांग्रेसलाई नातावाद, कृपावादबाट माथि उठाउने र पार्टीलाई केन्द्रीयकरण मात्र गर्ने प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी हो ।’

वयोवृद्ध भएर पनि कांग्रेसको नेतृत्वमा युवापुस्ताको हस्तक्षेप हुनैपर्ने बताउने उनी आफ्नो उम्मेदवारी यसैका लागि भएको बताउँछिन् । वृद्ध उमेरमा पनि युवाजोशका साथ महाधिवेशनस्थलमा मत माग्दै हिँडेकी उनले अहिलेसम्म कसैको प्यानलमा नलागेको बताएकी छन् ।

महिला संघको केन्द्रीय सदस्यसमेत भइसकेकी उनी पटक पटक महाधिवेशन प्रतिनिधि भइसकेकी छन् । केन्द्रीय कमिटीमा भने यो उनको दोस्रो उम्मेदवारी हो ।

२२ वर्ष अघि पनि केद्रीय सदस्यमा पराजित भएको बताउने उनी यसपटक भने महाधिवेशन प्रतिनिधिले जिताउनेमा विश्वस्त छिन् । राजनीतिक आन्दोलनका क्रममा आफू १५ वर्ष जेल जीवन बिताएको बताउने उनी अविवाहित रहेको जानकारी दिइन् ।