काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत दोस्रो चरणमा भइरहेको मतदानको गणना आजै गरिने भएको छ । आज साढे ३ बजे देखि सुरु भएको मतदानका लागि साढे सात बजेसम्मको समय तोकिएको छ । मतदान सकिएपछि आजै राति १० बजेबाट गणना सुरु हुने कांग्रेस चौधौं राष्ट्रिय महाधिवेशन मिडिया सेन्टर संयोजक डा. सुरेश आचार्यले जानकारी दिए ।
सोमबार भएको मतदानमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज दोस्रो चरणमा मतदान भइरहेको हो । पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेको छ ।
देउवालाई पहिलो चरणमा उम्मेदवार रहेका विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले समर्थन गरेका छन् ।
पदाधिकारीको मतगणना बिहीबारबाट
काठमाडौं । नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनको सभापति बाहेकको मतगणना बिहीबारबाट गरिने भएको छ । कांग्रेसको निर्वाचन समितिका अनुसार आज सभापतिको दोस्रो चरणको मतदान सकिएसँगै रातिबाटै मतगणना गरिने छ । त्यसपछि बुधबार आराम गरेर बिहीबारबाट पदाधिकारीको मत गणना सुरु हुने छ । निर्वाचनमा जम्मा ४६७९ मत खसेको थियो ।
प्रतिक्रिया