नेपाली क्रिकेट: कप्तानमा सन्दीप,चार खेलाडीलाई कारबाही

नेपाली क्रिकेट: कप्तानमा सन्दीप,चार खेलाडीलाई कारबाही



काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमका यसअघिका कप्तान ज्ञानेन्द्र मल्ललाई परिवर्तन गरेर सन्दिप लामिछानेलाई नयाँ जिम्मेवारी दिएको छ । क्यानको बुधबार बसेको बैठकले यसअघिका कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दिप लामिछानेलाई जिम्मेवारी दिने निर्णय गरेको हो । पछिल्लो पटक क्यानको नयाँ बर्गिकरण हुँदा ज्ञानेन्द्र मल्लले त्यसको खुलेर विरोध गरेका थिए । उनले अभिभावक संस्थाले खेलाडीलाई अन्याय गरेको भन्दै सञ्चारमाध्यममा बोलेको कुरालाई एक्सनका रुपमा लिएको छ ।

यो विषयमा क्यानले दुई पटक स्पष्टिकरण सोध्दापनि चित्तबुझ्दो जवाफ नभएको भन्दै क्यानले कप्तानी पदबाट हटाउने निर्णय गरेको बताए । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बैठकले कप्तान परिवर्तन गर्ने निर्णय गरेको र सन्दिपलाई आजैका मितीबाट नयाँ जिम्मेवारी दिने निर्णय गरेको बताए । यस्तै उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई पनि सो पदबाट हटाउने निर्णय गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी पारस खड्काले छोडेपछि ज्ञानेन्द्रले नियमित कप्तानी गर्दै आएका थिए । उनले विचमा पनि पारस घाइते भएको वा अनुपस्थित भएको खण्डमा नेपाली टिमको कप्तानी सम्हालेका थिए ।

उनले सन् २०१९ मा भएको एसीसी इमिर्जिङ कपबाट नियमित रुपमा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । यसका साथै क्यानले ज्ञानेन्द्रसहित दिपेन्द्र, कमलसिंह ऐरी र सोमपाल कामीलाई छ महिनाका लागि खेल प्रतिबन्ध लगाइएको छ । यी चार खेलाडीले खेलाडी आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गरिएको हो ।