कांग्रेस उपसभापतिमा पूर्ण खड्का र धनराज गुरुङ निर्वाचित, झिनो मतले चुके गच्छदार

कांग्रेस उपसभापतिमा पूर्ण खड्का र धनराज गुरुङ निर्वाचित, झिनो मतले चुके गच्छदार



काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइराला समूहबाट गुरुङ निर्वाचित भएका हुन् ।

खड्काको मताअन्तर दुई सय हाराहारीमा भए पनि गुरुङ भने २ मत अन्तरले जितेका हुन् । गुरुङसँग विजय गच्छदार झिनो मतले पराजित भए ।

निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत पाए । त्यस्तै गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाए ।

१४ औं महाधिवेशनमा खड्का र गच्छदार देउवा प्यानलबाट, गुरुङ र भण्डारी शेखर कोइराला प्यानलबाट, सुजाता कोइराला प्रकाशमान सिंह प्यानलबाट र दिव्यश्वरी शाह विमलेन्द्र निधि प्यानलबाट उम्मेदवार बनेका थिए । आचार्यले कुनै प्यानलमा नरही उम्मेदवारी दिएका थिए ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको नतिजा सार्वजनिक भइसकेको छ भने अब महामन्त्री पदको मतगणना बिहीबार विहान ८ बजेदेखि हुनेछ ।