कांग्रेस महामन्त्री पदको मतगणना ९ बजेबाट

कांग्रेस महामन्त्री पदको मतगणना ९ बजेबाट



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले केही बेरमै सुरु हुँदैछ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।

निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका थिए ।

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् । सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो ।