कांग्रेस महाधिवेशन : दुई अंकको दुःख !

कांग्रेस महाधिवेशन : दुई अंकको दुःख !



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा दुई अंकको अभावले नेताहरू निर्वाचित हुनबाट बन्चित भएका छन् । कांग्रेसको केन्द्रीय दुई उपसभापतिका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक विजयकुमार गच्छदार दुई मतको कमीले निर्वाचित हुनबाट बन्चित रहे ।

सभापतिमा गच्छदारसँगै पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्येश्वरी शाह चुनावी मैदानमा थिए । गच्छदार र खड्का संस्थापनबाट उम्मेदवार बन्दा भण्डारी र गुरुङ संस्थापनइतर शेखर कोइरालाको प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए ।

यसैगरी, प्रकाशमान सिंहको समूहबाट सुजाता कोइराला र विमलेन्द्र निधिको प्यानलबाट शाह उपसभापतिका लागि प्रतिस्पर्धा गरेका थिए । यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा महेश आचार्य पनि उपसभापतिको दौडमा सहभागी भएका थिए ।

बुधबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम सार्वजनिक हुँदा संस्थापन समूहका खड्काले सबैभन्दा बढी २१२१ मत ल्याएर विजयी भए भने कोइराला पक्षका गुरुङले १९०८ मत ल्याएर उपसभापतिमा निर्वाचित भए । तर, गुरुङभन्दा दुई मत कमी १९०५ भोट ल्याएर निर्वाचित हुने मौका गच्छदारले गुमाए ।

गच्छदारपछि क्रमशः भण्डारीले १५८०, कोइरालाले ६४४, आचार्यले ५८९ र शाहले १३२ मत ल्याएर उपसभापतिमा हार व्यहोरे ।

केन्द्रको निर्वाचनमा गच्छदारले भोगेको पीडा कांग्रेस प्रदेश १ सभापतिका लागि भएको निर्वाचनमा गुरु घिमिरेले भोग्नुपरेको थियो । प्रदेश १ सभापतिका लागि भएको निर्वाचनको गत २० मंसिरमा सार्वजनिक मत परिणामअनुसार घिमिरेले पनि गच्छदारले जस्तै दुई मत कमीले हार व्यहोरेका थिए । घिमिरेलाई दुई मतले पछि पार्दै उद्धव थापा कांग्रेस प्रदेश १ सभापतिमा निर्वाचित भए ।

थापाले ८४४ मत ल्याएर विजयी हुँदा घिमिरेले ८४२ भोट ल्याएर हार व्यहोरे । नेविसंघका पूर्व अध्यक्षत तथा तत्कालीन (चुनाव लड्दा) पार्टीको केन्द्रीय सदस्यको हैसियतमा रहेका घिमिरे प्रदेश सभापतिमा पराजित भएका हुन् । थापा झापा जिल्लाको पूर्वसभापति थिए ।

तर, घिमिरेको हारमा आफ्नै समूहका नेताहरूले भोट हाल्न नहाल्दाको परिणाम रहेको टिप्पणीसमेत भयो । प्रदेश निर्वाचनमा संस्थापनइतर पक्षमा देखिएका शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्यले भोट नै हालेनन् भने विश्वप्रकाश शर्मा भोट हाल्नै गएनन् ।

केन्द्रीय निर्वाचनमा आउँदा छिन्नभिन्न भए पनि उनीहरू प्रदेश निर्वाचमा एकै स्थानमा रहे पनि मतदानमा भने सहभागी भएनन् । जसकारण घिमिरे पराजित हुन पुगेका कांग्रेसभित्र चर्चा चल्यो ।