कांग्रेस महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा को हुन् ?

कांग्रेस महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा को हुन् ?



काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । यसअघि पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता रहेका शर्मा १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका हुन् ।

शर्माको संक्षिप्त जीवनी :

युवा नेता विश्वप्रकाश शर्माको जन्म विस ६ पुस २०२७ सालमा झापाको शान्तिनगरमा भएको हो । बुवा परशुराम भण्डारी र आमा सावित्रा भण्डारीका छोरा शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनका एक छोरा र एक छोरी छन् ।

२०३७ सालमा झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका शर्मा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको महामन्त्री र अध्यक्ष भइसकेका छन् । सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रुपमा पनि परिचित हुनुहुन्छ ।

१३औं महाधिवेशनबाट केन्द्रीय सदस्यका साथै पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका शर्मा १४औ महाधिवेशनमा पार्टीको कार्यकारी पद महामन्त्रीमा निर्वाचित भएका हुन् ।

अघिल्लो आम चुनावमा झापा क्षेत्र नम्बर १ बाट राम कार्कीसँग पराजित भएका थिए । संसदीय प्रतिस्पर्धामा पराजित शर्मा पार्टी प्रतिस्पर्धामा भने सफल भएका छन् ।

युवा प्रतिनिधिको लोकप्रिय मत उनले पाएका छन् । ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’को नारा उनले दिएका थिए ।

पार्टी प्रवक्ता बनाए पनि कृष्ण सिटौलासँगको सहकार्यले शेरबहादुर देउवाले टिकट नदिँदा शर्मा प्रकाशमान सिंह टिमबाट प्रतिस्पर्धामा होमिएका थिए ।