शेखरले भने- ‘४० प्रतिशत मतले भावविभोर भएको छु’

शेखरले भने- ‘४० प्रतिशत मतले भावविभोर भएको छु’



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले आफू भावविभोर भएको बताएका छन् । कांग्रेस परिवर्तनको पक्षमा उभिने मतपरिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख गर्दै सभापतिमा निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामना दिएका छन् ।

कोइरालाले देउवाको सभापतिको दोस्रो कार्यकालमा कांग्रेसको गौरव पुनर्स्थापित हुने विश्वास पनि व्यक्त गरेका छन् । सभापतिको निर्वाचनको मतपरिणाम आएको तेस्रो दिनपछि कोइरालाले देउवालाई बधाई दिएका हुन् ।
यस्तो छ कोइरालाको विज्ञप्ति :

प्रिय साथीहरु,
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सभापति चयन गर्ने प्रक्रिया पूरा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ । म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु । साथै उहाँको कार्यकालमा नेपाली कांग्रेसको गौरव पुनर्स्थापित हुनेछ भन्ने विश्वास पनि गर्दछु ।

पार्टीका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना अगाडि बढ्दै छ । मतगणना सकिएर विजय हुनुभएका साथीहरुलाई हार्दिक बधाई । आशा छ कांग्रेस परिवर्तनको पक्षमा उभिने हामी मतपरिणामबाट धेरै उत्साही र धेरै हतोत्साही हुने छैनौँ । पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वाभाविक रुपमा लिँदै कांग्रेस रूपान्तरणको एजेन्डामा निरन्तर क्रियाशील हुनेछौँ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा म पार्टी सभापतिमा पराजित भएको छु । केही मतबाट पराजित भए पनि हामीले प्रतिनिधि साथीहरु र लोकतन्त्रवादीहरुको ‘मन’ जित्न सफल भएका छौं । पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आमलोकतन्त्रवादीहरुबीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौं ।

मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ । मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु । प्रतिनिधि साथीहरूले मप्रति देखाएको विश्वास र भरोसाप्रति म अविचलित रहने प्रण गर्दछु ।

मलाई विश्वास छ, पार्टीका प्रतिनिधि साथीहरु, शुभेच्छुक मित्रहरु र आमनेपाली जनताबीच मेरो उम्मेदवारीले पार्टीलाई रूपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको छ । मलगायत मेरो टिम विश्वास दिलाउन चाहन्छ, हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने छौँ ।

पार्टीभित्र रुपान्तरण र परिवर्तनको यो लडाई हामीलाई सहज थिएन । वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं । पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रबृति, गलत संस्कृति र संस्कारको विरुद्ध हामी लडिरहेका थियौँ । हामी लडिरहेका थियौं, पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधानविपरीत हुने निर्णयविरुद्ध ।

पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग ऊर्जावान युवाहरुको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामीविरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ ।

पार्टीको १४औँ महाधिवेशनको प्रतिस्पर्धा पार्टीभित्र यथास्थितिवादी र परिवर्तनकारीबीच थियो । हामी परिवर्तनकारी शक्ति थियौँ । हामीसँग निष्ठावान कार्यकर्ताहरुको भरोसा र विश्वास थियो । हामीसँग हाम्रा अग्रज मूर्धन्य नेताहरु बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधिलगायत कैयन ज्ञात अज्ञात शहिदहरुको प्रेरणा थियो । जसलाई हामीले छातीमा राखेर कांग्रेसमा परिवर्तनको लागि नेपालका गाउँ शहर, हिमाल पहाड र तराई मधेस गयौ ।

हामी कांग्रेस कार्यकर्ता साथीहरुको घर दैलोमा पुग्यौँ । हामी काठमाण्डौँको आराम जीवन छोडेर जब गाउँ घर पुग्यौँ कांग्रेस हुनुको गौरव र भावना बुझ्यौँ । कांग्रेसको १४औँ महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा छ, तर हामीले कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश सम्पूर्ण कांग्रेसजनमा मात्र होइन, आमनेपालीको घर दैलोमा पुर्‍याएका छौँ ।

म आभार प्रकट गर्दछु, ती तमाम प्रतिनिधि साथीहरुप्रति जसले अनेकन् प्रतिकूलताको बीच पनि हामीप्रति निरन्तर विश्वास र भरोसा प्रकट गर्नुभयो । म आभार प्रकट गर्छु ती तमाम सञ्चारकर्मीहरुप्रति जसले हामीलाई कांग्रेस सुधारको प्रकृयामा सक्रिय भई सहयोग र समर्थन प्रदान गर्नुभयो । सञ्चार क्षेत्रको सहयोग नभएको भए हाम्रो एजेन्डा सीमित स्रोत र साधनको कारण आमकांग्रेसजन र प्रवुद्ध नागरिकसँग जोडिन सम्भव थिएन । म आभारी छु, ती तमाम लोकतन्त्रवादी नागरिकप्रति जसले हामीलाई निरन्तर निष्ठाप्रति अविचलित रहन प्रेरणा मात्र दिनुभएन दबाब पनि दिनुभयो । निर्वाचन समितिले अनेक प्रतिकूल परिस्थितिको सामना गर्दै लामो प्रक्रियामा गएको कांग्रेस महाधिवेशनलाई अहोरात्र खटेर सम्पन्न गरेकोमा धन्यवाद दिन चाहन्छु ।

अन्त्य,
पार्टीको १४औँ महाधिवेशनको मतपरिणामपछिका दिन राष्ट्रिय निर्वाचनको चहल पहल सुरु हुनेछ । कांग्रेसलाई एकढिक्का बनाएर मात्र हामी फेरि कांग्रेसलाई एक नम्वरको पार्टी बनाउन सक्छौं । कांग्रेसलाई एक नम्वरको पार्टी बनाउन हामी फेरि हिमाल, पहाड र तराई मधेस आउने नै छौं, तपाईहरुको घरदैलोमा । हामीप्रति देखाएको स्नेह, सहयोग र सद्भावप्रति म धन्यवाद ज्ञापन गर्दछु र भविष्यमा पनि हामीलाई यस्तै माया र सद्भावको अपेक्षा गर्दछु । धन्यवाद ।

डा. शेखर कोइराला
२ पुस २०७८