एमसीसीसहितका विषयमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाउने तयारी

एमसीसीसहितका विषयमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाउने तयारी



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज (एमसीसी) सहित संसदको गतिरोधबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने हुने भएको छ । आज बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने सहमति भएको हो ।

दुई नेताबीचको भेटमा संसदमा देखिएको गतिरोध अन्त्य गर्दै एमसीसी पेश गर्नेबारेमा छलफल भएको थियो । साझा सहमति जुटाउँदै संसदमा एमसीसी सम्बन्धी प्रस्ताव पेश गर्ने सत्तारुढ दलको तयारी छ ।

तीनदिन अघि एमसीसी मुख्यालयले नेपाललाई थप समय दिने निर्णय गरेको थियो । यस्तै एमालेले अवरोध गर्दै आएको संसद बैठक सञ्चालनका लागि सहमति खोज्न पनि दुई नेताहरु तयार बनेका छन् । भेटमा अध्यक्ष प्रचण्डले भर्खरै निर्वाचित देउवासहित कांग्रेस पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

सदन सुचारु गर्ने लगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने सहमति भएको हो।