कांग्रेस महाधिवेशनः पदाधिकारीको मतगणना सकियो

कांग्रेस महाधिवेशनः पदाधिकारीको मतगणना सकियो



काठमाडौं । नेपाली कांग्रेसका थप पाँच सहमहामन्त्रीको नतिजा सार्वजनिक भएको छ । खसआर्यतर्फ महामन्त्रीमा किशोरसिंह राठौर, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट बद्रि पाण्डे, थारुतर्फ उमाकान्त चौधरी र मधेसीतर्फ महेन्द्र यादव निर्वाचित हुनुभएको छ । पाँच सहमहामन्त्रीसँगै कांग्रेसका सबै पदाधिकारीको मतगणना सकिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार सम्पन्न मतगणनामा खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ । उहाँले देवराज चालिसेलाई ५१७ मतान्तरले हराउनुभयो । राठौरले २५७६ र चालिसेले २०५९ मत पाउनुभयो ।

मुस्लिमतर्फको सहमहामन्त्रीमा शेख वकिललाई ९०१ मतान्तरले हराउँदै फरमुल्लाह मन्सुर विजयी हुनुभएको छ । मन्सुरले २ हजार ७७६ र वकिलले १ हजार ८७५ मत प्राप्त गर्नुभयो ।

पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा बद्रि पाण्डे निर्वाचित हुनुभएको छ । कर्णालीका मुख्यमन्त्रीसमेत रहनुभएका नेता जीवनबहादुर शाहीलाई २७८ मतान्तरमा पराजित गर्दै पाण्डे विजयी हुनुभएको हो । पाण्डेले २ हजार ४११ मत र शाहीले २ हजार १३३ मत पाउनुभयो । तेस्रो स्थानमा रहनुभएका चेतराज बजालले ९९ मत पाउनुभएको छ ।

थारुतर्फको सहमहामन्त्री पदमा उमाकान्त चौधरी र मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित हुनुभएको छ । केन्द्रीय निर्वाचन समितिले थारु र मधेसीतर्फको अन्तिम परिणाम घोषणा गर्न बाँकी छ ।

बिहीबार महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्देम्बे निर्वाचित हुनुभएको थियो ।