पदाधिकारीमा सभापति देउवालाई सुविधाजनक बहुमत

पदाधिकारीमा सभापति देउवालाई सुविधाजनक बहुमत



काठमाडौं । कांग्रेस १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट कांग्रेसको केन्द्रीय समितिमा पदाधिकारीतर्फ सभापति शेरबहादुर देउवालाई सुविधाजनक बहुमत देखिएको छ ।

उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा निर्वाचित बनेका ६ जना नेता देउवा समूहबाट उम्मेदवार बनेर निर्वाचित बनेका हुन् । तर, महामन्त्रीमा भने देउवा समूहबाट उम्मेदवार बनेका डा. प्रकाशसरण महत र प्रदीप पौडेल दुवै जना पराजित बने ।

सहमहामन्त्रीहरूमा महालक्ष्मी उपाध्याय, भिष्मराज आङ्दाम्बे, फरमुल्लाह मन्सुर, किशोरसिंह राठौर, उमाकान्त चौधरी र महेन्द्र यादव गरी आठ जना देउवा समूहबाट उम्मेदवार बन्दै निर्वाचित भएका हुन् । चौधरी कृष्ण सिटौला समूहका भए पनि महाधिवेशनमा सहकार्य भएको थियो ।

यसरी हेर्दा कांग्रेसको १३ पदाधिकारीमध्ये देउवा समूहतर्फका मात्रै आठ जना केन्द्रीय समितिमा निर्वाचित बनेका छन् । कांग्रेसले महासमिति बैठकबाट आफ्नो विधानमा संशोधन गर्दै पदाधिकारीको संख्या १३ पु-याएको थियो । संशोधित विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको व्यवस्था छ ।

यसअघि भने एक सभापति, दुई उपसभापति मनोनीत, महामन्त्री एक निर्वाचित र एक मनोनीत गरी दुई जना र सहमहामन्त्री एक जना रहने व्यवस्था थियो । तर, देउवाले सहमहामन्त्रीमा एउटा संख्या थपेर सुनिल थापालाई मनोनीत गरी ल्याएका थिए ।

कांग्रेस विधानमा कोषाध्यक्ष पनि पदाधिकारीमा रहने व्यवस्था छ । तर, सो पद निर्वाचित केन्द्रीय सदस्यमध्येबाट पूर्ति गर्ने सुविधा विधानले सभापतिलाई दिएको छ ।

हालै सम्पन्न महाधिवेशनमार्फत कांग्रेसको देउवा टिममा उपसभापतिमा खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरूमा महालक्ष्मी उपाध्याय, भिष्मराज आङ्दम्बे, जीवन परियार, फरमुल्लाह मन्सुर, किशोरसिंह राठौर, बद्री पाण्डे, उमाकान्त चौधरी र महेन्द्र यादव गरी १३ जना निर्वाचित बनेका छन् ।

शेखर टिमबाट पदाधिकारीमा चार जना
नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदमा पाँच आकांक्षी मैदानमा उत्रिए । तर, मुख्य प्रतिस्पर्धा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच भयो । मत परिणामबाट कोइरालाले पराजय बेहोर्दा देउवाले भने जिते ।

अहिले कोइराला समूहबाट उम्मेदवार बनेका धेरै नेताको कांग्रेस केन्द्रीय समितिमा इन्ट्री भएको छ । उपसभापतिमा कोइराला समूहका धनराज गुरुङ छन् । यस्तै, महामन्त्रीमा गगन थापा निर्वाचित भए भने सहमहामन्त्रीतर्फ दलित समूहमा जीवन परियार र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे निर्वाचित बनेका छन् ।

आठ सहमहामन्त्रीमा को को ?
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फ आठ जना निर्वाचित बनेका छन् । कांग्रेसले सहमहामन्त्रीतर्फ संविधानले तोकेको समावेशी व्यवस्थाअनुसार केन्द्रीय समितिमा आठ पद राखेको थियो ।

जसअनुसार खस आर्यतर्फ किशोरसिंह राठौर २ हजार ५ सय ७६ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी देवराज चालिसेले भने २ हजार ५९ मत ल्याएर पराजित भए ।

यसैगरी, मुस्लिम समूहतर्फ फरमुल्लाह मन्सुर विजयी भएका छन् । उनले प्रतिस्पर्धी शेख वकिललाई पराजित गरेका हुन् । मन्सुरले २ हजार ७ सय ७६ मत पाउँदा वकिलले १ हजार ८ सय ७१ मत पाए ।

यसैगरी, पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित बनेका छन् । पाण्डे २ हजार ९ मत ल्याउँदै विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका जीवनबहादुर शाहीले भने १ हजार ८ सय ५२ मत मात्रै पाएका छन् । अर्का उम्मेदवार चेतराज बजालले ७५ मत पाएका छन् ।

यसैगरी, थारू समूहतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित बने भने उनीसँग तेजुलाल चौधरी पराजित भए । उमाकान्त २ हजार ७ सय ५६ मत ल्याउँदै निर्वाचित भएका हुन् । कृष्णप्रसाद सिटौला समूहका उनी शेरबहादुर देउवासँग चुनावी तालमेल भएपछि उम्मेदवार बनेका थिए । थारू समूहबाट सहमहामन्त्रीका अर्का उम्मेदवार तेजुलालले भने १ हजार ८ सय ७७ मत प्राप्त गरे । तेजुलाल कोइरालाको समूहका उम्मेदवार हुन् ।

यसैगरी, मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित बन्दा रामकृष्ण यादव भने पराजित बन्न पुगे । महेन्द्रले २ हजार ३ सय ३० मत ल्याउँदै मधेसी समूहतर्फबाट सहमहामन्त्रीमा निर्वाचित बनेका हुन् । उनीसँगै मैदानमा उत्रिएका रामकृष्णले भने १ हजार ८ सय २० र रञ्जित कर्णले ४ सय ७२ मात मात्रै ल्याए ।

यसअघि बिहीबार राति आएको परिणामबाट नै सहमहामन्त्री पदमा तीन जना निर्वाचित भइसकेका छन् । बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय, जनजातितर्फ भीष्मराज आङ्दाम्बे र जनजातितर्फ जीवन परियार निर्वाचित भएका थिए ।

उपाध्यायले २ हजार ५ सय ३३ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी कमला पन्तले २ हजार १ सय ५ मत प्राप्त गरिन् । यस्तै, आङ्दाम्बेले २ हजार ७ सय ११ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी विकास लामाले १ हजार ९ सय १३ मत प्राप्त गरेका थिए । यस्तै, परियारले २ हजार २ सय १२ मत पाए भने मानबहादुर विश्वकर्मा २ हजार १ सय ७५ मत ल्याउँदै पराजित भएका थिए ।

समाचारमा प्रयोग भएको ग्राफिक्स राजधानी दैनिकबाट लिइएको हो ।