अब के गर्छन्– पौडेल, सिटौला, निधि, सिंह र गच्छदारहरु

अब के गर्छन्– पौडेल, सिटौला, निधि, सिंह र गच्छदारहरु



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनले पार्टीको नयाँ स्वरुप कोरेको छ । यद्यपि केन्द्रीय समितिको खाका सार्वजनिक भइसकेको छैन, तर १३ पदाधिकारीमध्ये ११ नयाँ अनुहार छ, जहाँ युवा समुदायको बाहुल्यता छ ।

यो महाधिवेशनको परिणामले वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति विजय गच्छदार, पूर्वमहामन्त्रीत्रय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिहरु अब के गर्छन् भन्ने प्रश्न मात्र होइन, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँण, रमेश लेखक, एनपी सावद, परराष्ट्रमन्त्री डा. नारायण खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताको राजनीतिक भविष्य दाउमा परेको छ । डा. मीनेन्द्र रिजालले कांग्रेस राजनीतिबाट लगभग सन्यास लिइसकेका छन् ।

कांग्रेस महाधिवेशनमा सभापतिमा चर्चामा रहेका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला अन्तिम समयमा मैदानमा उत्रिएनन् । पौडेल अन्तिम समयसम्म पनि सभापतिमा आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने प्रयत्नमा लागे । तर, उनको प्रयास सफल भएन । सिटौला अन्तिममा शेरबहादुर देउवा समूहसँग चुनावी तालमेलमा अघि बढे र आफू भने ‘ब्याक’ भए । यी त महाधिवेशनअघिका कांग्रेस राजनीतिका कुरा भए ।

तर, अब महाधिवेशन सकिएपछि भने कांग्रेस राजनीतिमा सक्रिय रहेका ती दुई नेतासहित सभापतिमा पराजीत बनेका विमलेन्द्र निधि, प्रकाशमान सिंह, उपसभापतिमा पराजीत विजयकुमार गच्छदारलगायत नेता ‘कसरी अघि बढ्छन् भन्ने चासो छ । नेता पौडेलले भने आफूनिकटसँग राजनीतिबाटै अलग हुने संकेत पनि गर्दै आइरहेका थिए ।

तर, उनीसँग सन्निकट रहेका केहीले उनलाई सो निर्णयबाट रोकिन सुझाएसँगै उनको मुड बदलिएको छ । पौडेल अब कांग्रेसलाई एकताबद्ध गर्ने ढंगबाट अघि बढ्ने मनस्थितिमा पुगेका छन् । उनले पछिल्ला भेटघाटमा आफू निकटकाहरुलाई सोही आसय व्यक्त गर्दै आइरहेका छन् ।

‘उहाँको योजना एकताबद्ध कांग्रेस निर्माणमा अघि बढ्नेतर्फ नै छ, सभापतिको स्वेच्छाचारिता र युवा आवेग रोक्दै कांग्रेसलाई बलियो बनाउने गरी भूमिकाकमा रहन्छु भन्ने उहाँको आशय छ,’ पौडेलनिकट नेता ताराबहादुर कोइरालाले भने । सिटौलाले भने आफू पहिलेभन्दा झनै सक्रिय राजनीतिमा रहने बताउँदै आइरहेका छन् ।

उनले निर्वाचन परिणामपछिको अवस्था विषयमा भने मुख खोलिसकेका छैनन् । निर्वाचनअघि भने उनले आफूले सडकबाटै सभापतिलाई सहयोग गर्ने र झनै सक्रिय बन्ने बताएका थिए । सभापतिमा पराजित बनेका निधिले पनि कसरी अघि बढ्ने भन्ने विषयमा मुख खोलेका छैनन् । उनी प्रदेश २ को अधिवेशन र जिल्ला अधिवेशन नै बाँकी रहेकाले प्रदेश अधिवेशन र जिल्ला अधिवेशन सकिएपछि थप रणनीति बनाउने तयारीमा रहेको बताइन्छ ।

निधिले पहिलो चरणमा सभापतिमा पराजीत बनेपछि दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सहयोग गरेका थिए । यसैगरी, सभापतिमा पराजित सिंहले भने पार्टीलाई विधिसंगत ढंगबाट चलाउन सभापतिलाई बाहिरै बसेर पनि खबरदारी गर्ने बताए । उनले सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सहयोग गरेका थिए ।

‘पार्टीलाई विधिसंगत ढंगबाट चलाउनुपर्छ, मसँग सभापतिजीको कमिटमेन्ट त्यही छ, त्यसैका लागि बाहिरै बसेर पनि खबरदारी गर्छु, र कांग्रेसलाई बलियो बनाउने दिशामा अघि बढ्छु,’ सिंहले भने । त्यस्तै, उपसभापतिमा पराजित बनेका गच्छेदार भने निर्वाचन परिणामपछि निराश छन् ।

उनी २ मतमात्रै कम भएका कारण उपसभापतिमा धनराज गुरुङसँग पराजीत बन्न पुगेका हुन् । उनले समेत आगामी राजनीतिक बाटो बारे केही खुलाइसकेका छैनन् । यसअघि, महामन्त्री रहेका डा. शशांक कोइराला भने केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनी कांग्रेस राजनीतिमा सक्रिय रहने संकेत त्यसले पनि गर्दछ ।