खुला केन्द्रीय सदस्यको मतगणनाः शशांक कोइराला अग्रस्थानमा

खुला केन्द्रीय सदस्यको मतगणनाः शशांक कोइराला अग्रस्थानमा



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु भएको छ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । प्रारम्भिक मतगणनामा शशांक कोइराला अग्रस्थानमा हुनुहुन्छ । शशांकपछि रामहरि खतिवडा, उदय शम्सेर जबरालगायत हुनुहुन्छ ।

एकैपटक १२ स्थानमा मतगणना भइरहेको छ । केन्द्रीय निर्वाचन समितिले आज राति अबेरसम्म खुला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गर्ने कसरत गरेको छ ।

महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिनुभएको थियो । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) ४ हजार ७ सय ४३ रहेका छन् ।

केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस.आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ ।