काँग्रेस पहिलो शक्तिको रुपमा उदाउँछ : विश्वप्रकाश शर्मा

काँग्रेस पहिलो शक्तिको रुपमा उदाउँछ : विश्वप्रकाश शर्मा



काठमाडौँ। नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी स्थानीय तहको निर्वाचनबाट काँग्रेस पहिलो शक्तिको रुपमा उदाउने दाबी गरेका छन् ।

नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा निवर्तमान पार्टी प्रवक्ता शर्माले पार्टीको महाधिवेशनका कारण देशभर देखिएको जागरणले आसन्न स्थानीय तहको निर्वाचनबाट काँग्रेस पहिलो शक्ति हुने दाबी गरेका हुन् ।

महामन्त्री शर्माले महाधिवेशनको दौरान उत्पन्न विजयी र पराजित मनोविज्ञान तथा भावनालाई समेटेर पार्टीलाई एक ढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताए । उनले आफ्नो जित सम्पूर्ण काँग्रेसका कार्यकर्ता र शुभचिन्तकको परिवर्तनको भावना प्रतिबिम्बित भएको बताए ।

महामन्त्री शर्माले प्रेस स्वतन्त्रता सम्बन्धि संविधानले प्रत्याभूत गरेको प्रावधानलाई कुण्ठित हुने गरी आएका र आउने कुनै पनि ऐन नियम स्वीकार नहुने दृढता व्यक्त गरे ।

नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले आफू अब फरक भूमिकामा रहने भए पनि प्रेस स्वतन्त्रता र पत्रकारको हकहितमा सधैँ कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरे।