काँग्रेसको केन्द्रमा देउवाका १११ र कोइरालाका २३, को-कससँग हारे ?

काँग्रेसको केन्द्रमा देउवाका १११ र कोइरालाका २३, को-कससँग हारे ?



नेपाली काँग्रेस चौधौं महाधिवेशनको मतगणना १० दिन लगाएर सकिएको छ । सभापतिमा दुई चरणको मतदान भएका कारण पहिलो दिन समेत गन्दा मतगणना गर्न ११ दिन लागेको छ । समय जति धेरै लागेको भए पनि सभापति शेरबहादुर देउवाका लागि भने परिणाम निकै सुखद रहेको छ । १३४ जनाका लागि भएको निर्वाचनमा केवल २३ जना मात्र उनका उम्मेदवार हारेका छन् । अर्थात् एक सय एघारजना देउवा पक्षबाट विजयी भएका छन् ।

देउवासँग प्रतिस्पर्धा गरेका डा शेखर कोइरालाले सम्मानजनक मत पाउँदै गर्दा उनको समूहबाट प्रतिस्पर्धा गरेका २२ जना मात्रै विजयी भए । अर्थात् कोइराला पक्षधरहरुको काँग्रेस केन्द्रीय समितिमा उपस्थिति १६.४ प्रतिशत मात्र रह्यो । एक महामन्त्री बिश्वप्रकाश शर्मा प्रकाशमान सिंह समूहबाट विजयी भएका हुन् । यद्यपि, यो उनको प्राविधिक समूह मात्रै हो । उम्मेदवारीको अघिल्लो दिनसम्म पनि उनी देउवा समूहमै थिए । र, विजयपछि पनि उनी देउवा पक्षमै छन् ।

यो निर्वाचनमा पदाधिकारीका हकमा भने देउवालाई झट्का लागेको छ । एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री कोइराला समूहबाट विजयी भएका छन् । कोइराला समूहका अरु विजेता सदस्य हुन् । उपसभापतिमा धनराज गुरुङले दुई मतको अन्तरमा विजयकुमार गच्छदारलाई हराएका छन् ।

महामन्त्रीका विजेता गगन थापा र बिश्वश्वप्रकाशको विजयले देउवा समूहका उम्मेदवार रहेका डा. प्रकाशशरण महत र प्रदीप पौडेल दुबैले हार बेहोर्नु परेको छ । सहमहामन्त्रीमा दलित तर्फ जीवन परियारले जित्दा मानबहादुर बिश्वकर्मा र बद्री पाण्डेले पिछडिएको क्षेत्रबाट जित्दै गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजीत भएका छन् ।

खुला केन्द्रीय सदस्य ३५ मध्ये डा. शेखर पक्षका अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडु, डा. रामशरण महत, बलबहादुर केसी, दीपक गिरी, सञ्जय गौतम, गोविन्द पोखरेल, अजयबाबु शिवाकोटी र दिनेश कोइरालाले विजय हासिल गरे । उनीहरुको विजयले देउवा पक्षका हरि नेपाल, मंगल थारु, शम्भुलाल श्रेष्ठ, वीरेन्द्र कनौडिया, नरेशबहादुर सिंह, सुधीर शिवाकोटी, रत्नबहादुर कार्की, गंगाधर तिवारी र जनकराज गिरीले हार बेहोर्नु प¥यो ।

यसैगरी महिला खुला सदस्यमा सरिता प्रसाईको विजयले देउवा समूहबाट जमुना ढकाल पराजीत हुनेमा परिन् । त्यस्तै हार आदिवासी जनजाति सदस्य मध्येका ओमबहादुर थापाले बेहोरे । उनले हार्दै गर्दा टेकप्रसाद गुरुङ विजयी भएका छन् ।

सात मध्ये तीनवटा प्रदेशमा देउवा पक्षका एक एक जना पराजीत भए । प्रदेश १ मा राजीव कोइरालाको विजयले आनन्द सन्तोषी राई हार्न पुगे । वागमती प्रदेशमा राजेन्द्र केसीसँग ध्रुव अधिकारी र गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग सोभियतबहादुर अधिकारी हारे । अरु कुनै प्रदेशमा कोइराला पक्षले जीत हात पारेन ।

यस्तै, खस आर्य तर्फ पुरुष र महिला तथा दलित र मधेशीमा एक एक गरी चार सदस्य कोइराला तर्फबाट विजयी भएका छन् । खस आर्यमा मधु आचार्यले विष्णुकुमार कार्कीलाई र प्रतिमा गौतमले लीलाकुमारी नेपाललाई हराएका छन् । दलित तर्फ प्रकाश रसाइलीले जित्दै गर्दा बुद्धिराम हरिजन हारेका छन् भने मधेशी सदस्यमा डा. चन्द्रमोहन यावदले जित्दा देवकरणपसाद कलवारले हार्नु प-यो ।