एक महिनाभित्र तीन पार्टीका महाधिवेशनमा देउवा अतिथि

एक महिनाभित्र तीन पार्टीका महाधिवेशनमा देउवा अतिथि



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक महिनाभित्र चारवटा पार्टीको महाधिवेशनमा सहभागी भएका छन् । एक महिनाभित्र राप्रपा, एमाले र माओवादी केन्द्रको महाधिवेशनमा देउवा अतिथिका रूपमा सहभागी भएका हुन् ।

यही बीचमा नेपाली कांग्रेसको १४औं महाधिवेशनसमेत सम्पन्न भयो । आफ्नै पार्टीको महाधिवेशनमा देउवा सहभागी नहुने कुरै भएन । देउवा पहिलोपल्ट १०–१३ मंसिरमा चितवनमा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अतिथिका रूपमा सहभागी भएका थिए । प्रधानमन्त्री भएपछि देउवा र एमाले अध्यक्ष केपी ओलीको महाधिवेशनकै मञ्चमा भेट भएको थियो । ओलीले देउवालाई हातमा समातेर लगेका थिए ।

त्यसपछि १५–१७ मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको राप्रपाको महाधिवेशनको उदघाटन सत्रमा अतिथिका रूपमा उपस्थित भएका थिए । नेपाली कांग्रेसको सभापतिको रूपमा देउवालाई आमन्त्रण गरिएको थियो । उनले अरुलाई पनि आफ्नो प्रतिनिधिका रूपमा पठाउन सक्थे । तर, आफैं गए ।

एमाले अध्यक्ष ओलीले राप्रपाको महाधिवेशनमा उपाध्यक्ष ईश्वर पोखरेल र माओवादी केन्द्रको महाधिवेशनमा महासचिव शंकर पोखरेललाई पठाएका छन् । उनी कांग्रेसको १४औं महाधिवेशनमा आफैं उपस्थित भएका थिए । आइतबार देउवा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अतिथिका रूपमा सहभागी भएका छन् ।

एकीकृत माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस र राप्रपाको महाधिवेशनमा अतिथि बनेर गएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव पनि कांग्रेस, एमाले, राप्रपा र माओवादी केन्द्रको महाधिवेशनमा अतिथि बनेका छन् ।