सेसेल्समा नेपालीलाई रोजगारीको अवसर

सेसेल्समा नेपालीलाई रोजगारीको अवसर



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सेसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले आज शिष्टाचार भेट गरेका छन् । श्रम मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–सेसेल्सको सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।

साथै उनीहरूबीच नेपाली कामदारलाई सेसेल्समा रोजगारी उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकारसमक्ष प्रस्तुत श्रम सम्झौताबारे पनि छलफल भएको थियो । मन्त्री श्रेष्ठले जेल सुरक्षाको लागि मात्र नभई प्रहरी सेवा र निजी क्षेत्रमा पनि अवसर दिने विषयलाई समेटेर द्विपक्षीय श्रम समझदारी गर्नुपर्नेमा जोड दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कामदार छनोट, रोजगारी र स्वदेश फिर्तीलगायत विषयमा दुवै देशका उच्च पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी टुङ्गो लगाउन उपयुक्त हुने धारणा उनले राजदूतसमक्ष व्यक्त गरेका थिए ।

सेसेल्स सरकारले सुरक्षागार्ड बाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजान चाहेको जानकारी दिँदै राजदूत पिल्लेल खुला र उदार अर्थव्यवस्था भएको सेसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनुसक्ने बताउँदै सेसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्ने जानकारी दिएका थिए । उनले मन्त्री श्रेष्ठलाई सेसेल्स भ्रमणका निम्ति आमन्त्रण पनि गरेको मन्त्रालयले जनाएको छ ।