शीर्ष क्लब चेल्सी, आर्सनल र टोटनहमको जित

शीर्ष क्लब चेल्सी, आर्सनल र टोटनहमको जित



लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा गय राति भएको खेलमा शीर्ष क्लब चेल्सी, आर्सनल र टोटनहमले जित हासिल गरेका छन् । आइतबार राति भएको खेलमा चेल्सीले घरेलु टोली एस्टन भिल्लालाई ३-१ ले पराजित गर्‍याे । जजिन्होले दुई गोल गरेपछि चेल्सीले सहज जित पायो । तीन अंक हासिल गर्ने क्रममा जर्जिन्होले दुई गोल गरे भने रोमेलु लुकाकुले १ गोल गरे । चेल्सीकै रिस जेम्सले २८ मिनेटमा आत्माघाति गोल गर्दा घरेलु टोली एस्टन भिल्लाले भिल्ला पार्कमा अग्रता बनाएको थियो ।

अर्काे खेलमा आर्सनलले नर्वीचलाई ५–० को भारी अन्तरले पराजित गर्‍याे । एकपक्षिय जितमा भ्रमणकारी टोली आर्सनलका लागि बुकायो साकाले दुई गोल गरे भने कियरान टिएर्नी, एलेक्जान्ड्रे लाकाजेटी र अमिल स्मिथ रोले १-१ गोल गरे ।

अर्काे खेलमा टोटनहमले क्रिस्टल प्यालेसविरुद्ध ३-० को जित निकाल्यो । उसको जितमा ह्यारी केन, लुकास मौरा र हङ मिन सनले १-१ गोल गरे । अर्काे खेलमा वेस्ट ह्याम युनाईटेड साउथह्याम्पटनसँग ३–२ ले पराजित भयो । गय राति नै भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदान इतिहादमा भएको खेलमा लेस्टर सिटीलाई ६–३ अन्तरले पराजित गर्‍याे ।

सिटीको लागि रहिम स्टर्लिङले दुई गोल गरे । यस्तै केभिन डि ब्रुयन, रियाद महरेज, इल्काय गुन्डोगान र अमेरिक लोपार्टले १-१ गोल गरे । लेस्टरका लागि जेम्स माडिसन, एडेमोला लुकम्यान र केलेची इहेअनाचोले १-१ गोल गरे ।

जितसँगै सिटीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । सिटीको १९ खेलबाट ४७ अंक छ । एक खेल कम खेलेको लिभरपुलको १८ खेलबाट ४१ अंक छ । १९ खेल खेलेको चेल्सी ४१ अंक सहित तेस्रो स्थानमा छ ।

१९ खेलबाट ३५ अंक बनाएको आर्सनल चौथो स्थानमा रहँदा टोटनहम १६ खेलबाट २९ अंक सहित पाँचौ स्थानमा छ भने पराजित वेष्ट ह्याम १८ खेलबाट २८ अंक सहित छैटौं स्थानमा छ ।