धनगढी विमानस्थल स्तराेन्नतिका लागि एक अर्ब बजेट

धनगढी विमानस्थल स्तराेन्नतिका लागि एक अर्ब बजेट



काठमाडौं । कैलालीकाे धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तराेन्नति गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेकाे प्राधिकरणकाे बैठकले धनगढी विमानस्थललाई स्तराेन्नतिका लागि जग्गा अधिग्रहण गर्न बजेट विनियाेजन गरेकाे हाे । विमानस्थलका लागि २५० विघा जग्गा अधिग्रहण गर्ने र धावनमार्ग विस्तार गरी २५ सय मिटर पुर्‍याउने लक्ष्य राखिएकाे छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन नक्सा पास गरी र जग्गा अधिग्रहण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी छ ।

प्राधिकरणले सुदूरपश्चिमका बाँकी नाै विमानस्थलका लागि पनि बजेट विनियाेजन गरेकाे छ ।

डाेटी विमानस्थलका लागि १८ कराेड ६१ लाख, साँफेबगर विमानस्थलका लागि ३ कराेड, कमलबजार विमानस्थलका लागि ३ कराेड, महेन्द्रनगर विमानस्थलका लागि २ कराेड ५१ लाख, बैतडी विमानस्थलका लागि १ कराेड ५० लाख, दार्चुला विमानस्थलका लागि २ कराेठ ६५ लाख, बझाङ विमानस्थलका लागि १२ लाख, बाजुरा विमानस्थलका लागि १८ लाख र डडेल्धुरा विमानस्थलमा सम्भाव्यता अध्ययनका लागि ५० लाख रुपैयाँ बजेट विनियाेजन गरिएकाे छ ।