एभीसी सेन्ट्रल जोनमा नेपाल लगातार च्याम्पियन

एभीसी सेन्ट्रल जोनमा नेपाल लगातार च्याम्पियन



काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो पटक एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधि जितेको छ । मंगलबार बंगलादेशको ढाकामा सम्पन्न फाइनलमा महिला टोलीले उज्वेकिस्तानलाई ३-२ को सेटमा हरायो ।

प्रतियोगितामा बलियो मानिएको उज्वेकिस्तानलाई नेपालले समूह चरणमा नै सोझो सेटमा हराएको थियो । तर, फाइनलमा सुरुवाती सेटबाटै आक्रामक देखिएको उज्वेकिस्तानले नेपालसामू कडा चुनौती प्रस्तुत गरेको थियो । रोमाञ्चक बनेको खेलमा नेपालले पहिलो सेट २६-२४ ले आफ्नो पारेपनि दोस्रो सेट उज्वेकिस्तानले २४-२६ ले जित्यो ।

साविक विजेतासमेत रहेको नेपालले तेस्रो सेट २५-१५ को फराकिलो अंकको अन्तरमा आफ्नो बनाए पनि चौथो सेट २२-२५ ले उज्वेकिस्तानले जित्यो । अन्तिम तथा निर्णायक सेट नेपालले १५-११ ले जित्यो ।

उज्वेकिस्तानविरुद्वको खेलमा प्रशिक्षक भट्टले पहिलो रोजाइमा सरस्वती चौधरी, प्रतिभा प्रतिभा माली, कप्तान अरुणा शाही, सलिना श्रेष्ठ, सुनिता खड्का र शान्ती थारूलाई कोर्टमा उतारेका थिए ।

यसअघि नेपालले समूह चरणमा उज्वेकिस्तानलाई २५-२०, २५-२३ र २५-१४ को सोझो सेटमा हराउँदै एक खेल अगावै फाइनलमा स्थान बनाइसकेको थियो ।

नेपालले दुई वर्षअघि बंगलादेशमा नै भएको एभीसी सेन्ट्रल जोनको पहिलो संस्करणको फाइनलमा माल्दिभ्समाथि ३-० को जित निकाल्दै कीर्तिमानी उपाधि हात पारेको थियो ।