भारतमा थप झण्डै २३ हजार नयाँ सङ्क्रमित

भारतमा थप झण्डै २३ हजार नयाँ सङ्क्रमित



नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप झण्डै २३ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७७५ नयाँ सङ्क्रमित भएका हुन् । सोही अवधिमा कोरोनाका कारण ४०६ को मृत्यु भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नयाँ सङ्क्रमितमध्ये एक हजार ४३१ जनालाई भने ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीले जनाएका छन् । भारतमा अहिलेसम्म २३ राज्यमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको र यो फैलिने क्रम तीव्र भएको उनीहरुको भनाइ छ । ओमिक्रोनबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । त्यसपछि धेरै केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा ओमिक्रोनका सङ्क्रमित भेटिएका छन् ।

भारतमा पछिल्लो एक दिनमा आठ हजार ९४९ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ४२ लाख ७५ हजार ३१२ पुगेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख चार हजार ७८१ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।