माओवादी महाधिवेशन: निर्वाचन कार्यतालिका संशोधन

माओवादी महाधिवेशन: निर्वाचन कार्यतालिका संशोधन



काठमाडौं । नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार हिजोका सबै कार्यक्रम स्थगन गरेको थियो ।

सर्वसहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा जानकारी गराएपछि थप कार्यक्रम आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो ।

आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार संशोधित निर्वाचन कार्यक्रमअनुसार आज २ बजेदेखि ३.३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । ३.४० मा उम्मेदवारको मनोनयन पत्रको दर्ता सूची प्रकाशन गरिनेछ ।

उम्मेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ । उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४.१० बजेसम्मको समय दिइएको छ ।

आयोगका अनुसार उजुरीमाथि छानबिन गरी ४.४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारी फिर्ताका लागि ५.३० बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली ५.४५ बजे प्रकाशन गरिनेछ ।

आयोगका अनुसार आज साँझ ६.२५ बजेदेखि १०.२५ सम्म निर्वाचनका लागि समय निर्धारण गरिएको छ । माओवादीमा २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने व्यवस्था गरिएको आयोगका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।