राष्ट्रिय आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार

राष्ट्रिय आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार



काठमाडौं । विज्ञान प्रविधिका क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँलाई ‘श्रीपति समाजसेवा पुरस्कार-२०७८’ बाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशि रु दुई लाख २२ हजार २२२ रहेको छ ।

पोखरा महानगरपालिका-९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार संस्थाको २९औँ वार्षिक साधारणसभाका अवसरमा केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङले पुरस्कार प्रदान गरे ।

उपकुलपति गुरुङले व्यक्ति मर्यादित भए समुदाय मर्यादित हुने र समुदाय मर्यादित भए राष्ट्र मर्यादित हुने बताए । श्रीपति कोइराला गुठीले धर्म, संस्कार र संस्कृति संरक्षणमा खेलेको भूमिकाको उहाँले प्रशंसा गरे ।

सम्मानित संस्था आविष्कार केन्द्रका प्रमुख पुनले देशको अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको बताए । उनले सबै नेपालीले सिर्जनशीलतामा जोड दिनुपर्ने र प्रविधिको विकासका लागि अनुसन्धानमूलक कार्यलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए ।

केन्द्रको उद्देश्य प्रतिभा खोजेर अनुसन्धानमार्फत सिर्जना गर्ने र सिर्जनालाई उत्पादनसँग जोडेर देशमा समृद्धि ल्याउने रहेको स्पष्ट पारे । सो अवसरमा विद्यार्थी र विभिन्न समाजसेवीहरूलाई श्रीपति शिक्षा पुरस्कार र श्रीपति विद्या पदकद्वारा विभूषित गरिएको संस्थाका अध्यक्ष लक्ष्मण कोइरालाले जानकारी दिए ।

नेपालभर मानवीय एवं स्वयंसेवी भावनाबाट अभिप्रेरित भई समाजमा मानवीय विपद्मा उद्धार र राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण र सामुदायिक विकासका क्षेत्रमा विशेष सेवा गर्ने व्यक्ति वा संस्थाहरू मध्यबाट पुरस्कार छनोट नियमावलीका आधारमा छनोट समितिको सिफारिसमा पुरस्कार प्रदान गरिँदै आइएको सो संस्थाले जनाएको छ ।

विसं १८६४ असार २७ गते पोखरा–४ गैहपाटनमा जन्मिनुभएका श्रीपतिले विसं १८९० मा पोखराको महेन्द्रपुल र विसं १८९९ मा पर्वतको काली नदी किनार मडीकुवामा जग्गा खरिद गरी गुठी स्थापना गरेका थिए । उनीबाट स्थापित दुवै गुठीलाई उहाँका सन्तानबाट निरन्तर समाजसेवाका गतिविधिमार्फत सञ्चालन भइरहेका छन् ।