महाधिवेशन प्रतिनिधि हारेका मुख्य सचिव पौडेल कांग्रेसकाे राष्ट्रिय सभा उम्मेदवार

महाधिवेशन प्रतिनिधि हारेका मुख्य सचिव पौडेल कांग्रेसकाे राष्ट्रिय सभा उम्मेदवार



काठमाडौं । कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएका कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका छन् । गत मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिमा पराजित पौडेललाई कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको हो । उनी कांग्रेसका मुख्य सचिव पनि हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले बागमती प्रदेशमा पौडेललाई राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी नेपाल शिक्षक संघमा समेत आवद्ध थिए ।

१३औँ महाधिवेशनपछि सभापतिमा निर्वाचित भएपछि देउवाले उनलाई मुख्य सचिवमा नियुक्त गरेका थिए । राष्ट्रिय सभा सदस्यको आउँदो १२ माघमा निर्वाचन हुँदै छ ।

कांग्रेसले प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, कर्णालीमा दुर्गाकुमारी गुरुङ, लुम्बिनीमा युवराज शर्मा र सुदूरपश्चिम नारायण मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने निर्णय गरेको हो ।