वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार

वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार



काठमाडौं । पुस तेस्रो साता वाणिज्य बैंकहरूमा १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । दसैं-तिहारमा बैंकिङ प्रणालीबाट बाहिरिएको पैसा प्रणालीमै फर्किन थालेपछि बैंकहरूको निक्षेप बढेको हो ।

नेपाल बैंकर्स संघले मंगलबार प्रकाशित गरेको तथ्यांकअनुसार पुस तेस्रो साता (१० गतेदेखि १६ गते) सम्ममा वाणिज्य बैंकहरूको निक्षेप १४ अर्ब रुपैयाँ वृद्धि भई ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ ।

पुस पहिलो साता दुई अर्ब रुपैयाँले वृद्धि भएको निक्षेप दोस्रो सातामा चार अर्ब रुपैयाँले घटेको थियो ।

वाणिज्य बैंकहरूको कुल निक्षेप वृद्धि भए पनि विदेशी मुद्राको निक्षेप भने घटेको छ । नेपाली मुद्राको निक्षेप २० अर्बले वृद्धि हुँदा विदेशी मुद्राको निक्षेप ६ अर्बले घटेको छ ।

यसैगरी पुस तेस्रो साता वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । यस अवधिसम्ममा वाणिज्य बैंकहरूको कर्जा ४० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले जनाएको छ ।

निक्षेप वृद्धि भएपछि बैंकहरूको कर्जा-निक्षेप (सिडी रेसियो) अनुपातमा सुधार आएको छ । गत शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको औसत सिडी रेसियो ९०.५४ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।