राष्ट्रिय सभा निर्वाचनः गठबन्धन मिल्दा एमालेलाई चुनौती

राष्ट्रिय सभा निर्वाचनः गठबन्धन मिल्दा एमालेलाई चुनौती



काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती थपिएको छ ।

२० फागुनबाट राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये ८ पद एमालेकातर्फबाट रिक्त हुँदै छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सोही मितिमा सकिँदै छ । तर, गठबन्धनसहित अघि बढेका सत्तारूढ दललाई राष्ट्रिय सभा निर्वाचनमा थप नाफा हुने देखिँदा एमालेलाई भने चुनौती थपिएको हो ।

निर्वाचन आयोगले सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य विभिन्न समूह गरी १९ सिटका लागि १२ माघमा निर्वाचन गराउन लागेको छ । सोही प्रयोजनका लागि मंगलबार आयोगले उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखेकोमा सातै प्रदेशमा गरी ४३ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट पाँच जना, नेकपा (एकीकृत समाजवादी) बाट पाँच जना, जनता समाजवादी पार्टी नेपालबाट दुई जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना, नेपाल मजदुर किसान पार्टीबाट दुई जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना र राष्ट्रिय जनमोर्चाबाट एक जनाको उममेदवारी परेको हो ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन कायम राख्दै एमालेकातर्फबाट रिक्त हुने सिटमासमेत भागबन्डा गरेर जाने निर्णय गरेपछि एमाले भने एक्लै अघि बढेको छ ।

गठबन्धनमा रहेका दलबीच भएको सहमतिअनुसार एमालेले जितेका आठ सिटमा कांग्रेसले तीन, जसपाले दुई, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले एक-एक सिट पाउने गरी सहमति भएको हो । १९ पद रिक्त हुँदा भएको भागबन्डामा कांग्रेसको भागमा ६ सिट, माओवादी केन्द्र र नेकपा एसले पाँच-पाँच सिट तथा जसपालाई दुई र जनमोर्चालाई एक सिट परेको हो ।

गठबन्धनमा रहेका दलबीच भएको सहमति कार्यान्वयन भए कांग्रेसले पुरानो सिटलाई आफ्नो पक्षमा कायम राख्दै थप तीन सिट नाफामा हुनेछ । यस्तै, माओवादी केन्द्र र नेकपा एस एक÷एक सिट नाफामा हुनेछन् भने जसपा र राष्ट्रिय जनमोर्चा सबैभन्दा बढी नाफामा पर्नेछन् ।

कुल ५९ सदस्यीय हुने राष्ट्रिय सभामा हाल अध्यक्षसहित एमालेका २४, उपाध्यक्षसहित माओवादीका १४, कांग्रेसका सात, एकीकृत समाजवादीका सात, जसपाका दुई, लोकतान्त्रिक समाजवादीबाट एक, स्वतन्त्र एक र मनोनीत तीन जना सदस्य छन् ।

१२ माघमा हुने निर्वाचनमा स्थानीय तहका १४ सय ९३ जना र प्रदेश सभाका ५ सय ३२ जना गरेर जम्मा २ हजार २५ जना मतदाता कायम भएका छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

कुन प्रदेशमा कति जना उम्मेदवार ?
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा महिलातर्फको रिक्त हुने एक सिटका लागि तीन जनाको उम्मेदवारी परेको छ । यस्तै, सो प्रदेशमा अपांगता भएका वा अल्पसंख्यकतर्फ दुई जनाको उम्मेदवारी परेको छ भने अन्य समूहतर्फ तीन जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश १ मा रिक्त हुने तीन पदमा सबै गरी आठ जनाको उम्मेदवारी परेको हो । जसमा तीनै समूहबाट गरी एक÷एक जना अर्थात् कुल तीन जना निर्वाचित हुनेछन् ।

यसैगरी, प्रदेश २ मा महिला समूहतर्फ तीन जना तथा अन्यतर्फ दुई जनाको गरी पाँच जनाको उम्मेदवारी परेको छ । प्रदेश २ मा दुवै समूहबाट गरी दुई जना निर्वाचित हुनेछन् ।

यसैगरी, बाग्मती प्रदेशमा महिलातर्फ तीन र अन्यतर्फ समेत ३ गरी ६ जनाको उम्मेदवारी दर्ता भएको छ । बाग्मतीमा दुई पद रिक्त हुँदै छ ।

यसैगरी, गण्डकी प्रदेशमा महिला समूहतर्फ दुई जना, दलिततर्फ दुई जना र अन्य समूहतर्फ दुई जना गरी ६ जनाको उम्मेदवारी दर्ता भएको छ । यी सबै समूहबाट एक÷एक जना गरी तीन जना यो समूहबाट निर्वाचित हुनेछन् ।

लुम्बिनीमा पनि महिलातर्फ दुई, दलिततर्फ दुई र अन्यतर्फ दुई जना गरी जम्मा ६ जनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा यी तीनै समूहबाट एक÷एक जना गरी तीन जना निर्वाचित हुनेछन् ।

यसैगरी, कर्णाली प्रदेशमा महिलातर्फ दुई जना, अपांगता भएका वा अल्पसंख्यकतर्फ दुई जना र महिलातर्फसमेत दुई जनाकै उम्मेदवारी परेको छ । यी तीनै समूहबाट एक÷एक जना गरी तीन जना निर्वाचित हुनेछन् ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा महिलातर्फ दुई, दलिततर्फ दुई र अन्य समूहतर्फ दुई जना गरी ६ जनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा तीनै समूहबाट एक÷एक जना गरी तीन जना निर्वाचित हुनेछन् ।

कुन प्रदेशमा कति छ मतभार ?
निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ९२ जना प्रदेश सभा सदस्य तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख गरेर २७२ जना मतदाता छन् । सो प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४ हजार ४ सय १६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुखको मतभार ४ हजार ८ सय ९६ छ । यी दुवैतर्फ गरेर प्रदेश १ मा कुल मतभार ९ हजार ३ सय १२ हुन्छ ।

यसैगरी, प्रदेश २ मा जम्मा ९ हजार ८ सय १६ मतभार छ । प्रदेश २ मा प्रदेश सभा सदस्य १ सय ४ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन् । प्रदेश सभाका सदस्यको कुल मतभार ४ हजार ९ सय ९२ हुन्छ भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जनाको मतभार ४ हजार ८ सय २४ हुन्छ ।

यस्तै, बाग्मतीमा प्रदेशमा प्रदेश सभा सदस्य १ सय ९ जना छन्, । उनीहरूको मतभार ५ हजार २ सय ३२ हुन्छ । यसैगरी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ३७ जना छन् । उनीहरूको मतभार ४ हजार २ सय ६६ हुन्छ । दुवैतर्फका गरी बाग्मती प्रदेशमा कुल मतभार ९ हजार ४ सय ९८ रहेको छ ।

यसैगरी, गण्डकीमा प्रदेशमा ५ हजार ८ सय ९२ कुल मतभार छ । जसमा प्रदेश सभा सदस्य ५९ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ७० जना छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा ७ हजार ७ कुल सय ५८ मतभार छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ८१ जना तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय १५ जना रहेको निर्वाचन आयोगले जनाएको हो ।

कर्णाली प्रदेशमा ४ हजार ४ सय ८८ कुल मतभार छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ३५ जनाको मतभार १ हजार ६ सय ८० तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ५६ जनाको मतभार २ हजार ८ सय ८ छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशमा कुल मतभार ५ हजार ६ सय ४६ छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ५२ जनाको मतभार २ हजार ४ सय ९६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ७५ जनाको मतभार ३ हजार १ सय ५० छ ।
– महेश्वर गौतम/राजधानी दैनिकबाट