शेखरले भने- ‘सभापतिज्यू कुन मापदण्डअनुसार मनोनयन गर्नुभयो ?’

शेखरले भने- ‘सभापतिज्यू कुन मापदण्डअनुसार मनोनयन गर्नुभयो ?’



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा गरेका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो समूहबाट विजयी भएका र पराजित भएकाहरूको भेलामा कोइरालाले सो घोषणा गरेका हुन् । अनामनगरस्थित होटल बसेरामा आयोजित भेलामा उनले पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचन र मनोनयन दुवै माध्यमबाट पुगेका नेताहरूलाई बधाई दिँदै उनले सबैको एउटै जोड कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने रहेको पनि बताए ।

कोइरालाले महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले मनोनयन गरेका १३ जना केन्द्रीय सदस्यहरू कुन मापदण्डअनुसार मनोनयन भएका हुन् त्यो जान्न चाहेको उल्लेख गरे । ‘महाधिवेशनपछि सभापतिज्यूले मनोनयन गर्नुभएका सबै नेताहरू योग्य र सक्षम नै हुनुहुन्छ । तर, कुन मापदण्डका आधारमा मनोनयन गरिएको हो । यो भने हामी जान्न चाहन्छौं,’ उनले भने ।

डा.कोइरालाले पार्टीलाई विधि र विधानअनुसार सबैको रायसुझावका आधारमा चलाउन नसकिए दुर्घटनामा पर्ने पनि बताए । उनले आगामी निर्वाचनलाई मध्यनजर गरेर आफूहरू देशव्यापी रूपमा जनतामाझ जाने पनि घोषणा गरे ।

भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारीलगायतका नेताहरू सहभागी थिए ।