यौन दुर्व्यवहारको प्रमाण भेटिएपछि अमेरिकी सांसद जिमी गोमेजले दिए राजीनामा

यौन दुर्व्यवहारको प्रमाण भेटिएपछि अमेरिकी सांसद जिमी गोमेजले दिए राजीनामा


ग्लोब नेपाल
0
Shares

अमेरिकाको क्यालिफोर्निया राज्यका डेमोक्रेटिक सांसद जिमी गोमेजले यौन दुर्व्यवहारको विश्वसनीय प्रमाण भेटिएपछि कङ्ग्रेसबाट राजीनामा दिने घोषणा गरेका छन् । अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सको आचारसंहिता समितिले सोमबार छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि उनले पद छोड्ने निर्णय गरेको अमेरिकी समाचार संस्था सीबीएस न्युजले जनाएको छ ।

आचारसंहिता समितिको प्रतिवेदनमा गोमेजले आफू र कर्मचारीबीचको शक्तिको असन्तुलनलाई बेवास्ता गर्दै संसद्की एक महिला कर्मचारीमाथि अवाञ्छित यौन प्रस्ताव तथा व्यवहार गरेको उल्लेख छ । ५१ वर्षीय गोमेजले प्रतिवेदनका निष्कर्षमा आफ्नो असहमति रहे पनि आगामी डिसेम्बर १ देखि लागू हुने गरी राजीनामा दिने बताएका छन् ।

लस एन्जलसको एक क्षेत्रबाट पाँच कार्यकाल सांसद रहिसकेका गोमेज यही महिना सम्पन्न मध्यावधि निर्वाचनमा पराजित भएका थिए र यो वर्षको अन्त्यमा पद छोड्ने तयारीमा थिए । सीबीएसका अनुसार गोमेजले सोमबार एक विज्ञप्ति जारी गर्दै समितिका निष्कर्षहरूप्रति आफ्नो कडा असहमति रहे पनि राजीनामा दिनुबाहेक अन्य विकल्प नदेखेको उल्लेख गरेका छन् ।

‘म आचारसंहिता समितिको प्रतिवेदनको गम्भीरतालाई स्वीकार गर्छु र पहिले नै भनेजस्तै आफ्नो वैवाहिक सम्बन्धबाहिर मैले गरेका व्यक्तिगत गल्तीहरूको पूर्ण जिम्मेवारी लिन्छु,’ उनले भनेका छन्।