‘स्मार्ट लकडाउन’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सिफारिस

‘स्मार्ट लकडाउन’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सिफारिस



काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी)ले स्मार्ट लकडाउन प्रभावकारी रूपमा कार्यान्वयन गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको छ । नेपालले स्मार्ट लकडाउनको कार्यविधि लागू गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरिने भएकाे छ भने आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश नपाउने गरी नियम लागु गरिने बताइएकाे छ।

सिसीएमसीले सार्वजनिक स्थानमा २५ जनाबढी मानिस भेला हुन नपाउने निर्णय गरेको छ। पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण दर दैनिक एक हजारभन्दा माथि पुग्न थालेपछि समन्वयन केन्द्रले यस्तो निर्णय लिएको हो।

बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् । 

हिउँदे बिदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समूहका खोपको पूर्ण मात्रा नलगाएका शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने सिसिएमसीको निर्णय छ ।

समितिले होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला र विमानस्थल र पार्कसहितका सार्वजनिक स्थानमा प्रवेश गर्न कोभिडविरद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने निर्णय गरेको छ। सार्वजनिक स्थानमा कडाइ गर्दै सीसीएमसीले दलहरुलाई सभा, सम्मेलन रोक्न पनि सरकारलाई सिफारिस गरेको छ।

आजको बैठकले सिनेमा हल, पार्कलगायत सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था लागू गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज मात्रै देशभर एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमणको मात्रामा पछिल्ला दिनमा व्यापक वृद्धि भएको छ ।