राष्ट्रले अस्थित्वकाे चिन्ता गर्नुपर्ने तन्त्रको अभ्यासमा समय बरबाद नगरौँ : ज्ञानेन्द्र शाह

राष्ट्रले अस्थित्वकाे चिन्ता गर्नुपर्ने तन्त्रको अभ्यासमा समय बरबाद नगरौँ : ज्ञानेन्द्र शाह



काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको पूर्व सन्ध्यामा एक सन्देश जारी गर्दै गणतान्त्रिक शासन व्यवस्थाप्रति घुमाउरो तवरले असन्तोष प्रकट गरेका छन् । जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने तन्त्रको नाम जेसुकै राखे पनि त्यो निरर्थक हुने भन्दै पूर्व राजा शाहले राष्ट्रको कीर्ति र जनताको सुखबाहेक प्रजातन्त्रको कुनै लक्ष्य हुन नसक्ने बताएका छन् ।

उनले भनेका छन्, ‘जन इच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र जनगणतन्त्र जेसुकै चयन गरिउन्, यसले राष्ट्र हित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुनेछ ।’

प्रणाली केवल साधन मात्र भएको र साधन परिवर्तनलाई नै महान् उपलब्धिका रूपमा वर्णन गर्ने प्रयास हुँदै आएको भन्दै पूर्व राजाले असन्तोष व्यक्त गरेका छन् । ‘सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्छ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बरबाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन,’ उनले सन्देशमा भनेका छन् ।