राष्ट्रपति र पूर्वराजाबाटै स्वास्थ्य मापदण्ड उल्लंघन

राष्ट्रपति र पूर्वराजाबाटै स्वास्थ्य मापदण्ड उल्लंघन



काठमाडौं । कोरोना संक्रमण दैनिक दुई गुणाले वृद्धि भइरहेका बेला राष्ट्र प्रमुख तथा पूर्वप्रमुखबाट स्वास्थ्य मापदण्ड उल्लंघन हुनु देशकै दुर्भाग्यका रुपमा चित्रण गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मंगलबार सिंहदरबार अगाडि अनावश्यक भीड जम्मा गरेर कोरोना फैलाउन राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाहले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

तीब्र रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि गृहमन्त्रालयले नयाँ स्वास्थ्य मापदण्ड हिजो सोमबार मात्रै सार्वजनिक गरेको थियो । उक्त मापदण्डलाई धोती लगाउँदै राष्ट्रप्रमुख र पूर्वराजा सहभागी कार्यक्रमप्रति गृहमन्त्रालयसमेत आश्चर्य चकित भयो । गृह मन्त्रालयले हिजाे मात्र २५ जनाभन्दा बढी भेला हुन नपाउने सर्कुलर जारी गरेको थियाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार मूलगेट अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् । सेनाको विशेष टुकुडीसहित उनले माल्यार्पण गरेकी हुन् । पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ना जाँदा सयौंको उपस्थिति थियो । यसले सरकारले नै जारी गरेको मापदण्डको खिल्ली उडाएको प्रस्ट हुन्छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह शक्ति प्रदर्शनको शैलीमा सिंहदरबार अगाडि पुगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पगुच्छा चढाएर फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह माल्यार्पणका लागि पुगेका हुन् । त्यसबेला सयौंको भिड लागेको थियो । उनका समर्थकले नाराबाजी गरेका थिए ।

पृथ्वी जयन्तीको अवसर पारेर राप्रपाले भृकुटीमण्डपमा कोणसभा आयोजना गरेको छ । त्यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हजारौंको जुलुस लिएर पृथ्वीनारायण शाहको सालिकमा फूलमाला चढाउन पुगेका थिए । कसैले स्वास्थ्य सतर्कता पालना गरेको देखिएन ।