प्रचण्डको स्वास्थ्य अवस्था सामान्य, पिसिआर परीक्षण शनिबार

प्रचण्डको स्वास्थ्य अवस्था सामान्य, पिसिआर परीक्षण शनिबार



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमणको लक्षण सामान्य रहेको छ । अध्यक्ष प्रचण्डलाई गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । डाक्टरको सल्लाह अनुसार प्रचण्ड अहिले होम आइसोलेसनमा नै बसिरहेका छन् ।

प्रचण्डको स्वास्थ्यय अवस्था सामान्य रहेको र कोरोनाको कुनै पनि लक्षण नदेखिएकोले डाक्टरको सल्लाह अनुसार पर्सि (शनिबार) पिसिआर परीक्षण गर्ने र नेगेटिभ आए नदेखिएसम्म आईसोलेसनमा बस्ने उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष ‘प्रचण्ड’सहित पार्टीका ११ जना नेता कार्यकर्तालाई कोरोना संक्रमण भएपछि पार्टीको गतिविधि ठप्प भएको छ । अहिले माओवादीको केन्द्रीय कार्यालय सिल गरिएको छ । प्रचण्ड आठौँ महाधिवेशनमा पुनः अध्यक्षमा निर्वाचित भएपछि उनलाई बधाई दिन पुगेकाहरु अधिकांशमा संक्रमण देखिएको थियो । प्रचण्ड डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बसेका हुन् ।

यस्तै पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा, वाइसिएल अध्यक्ष सुमन देवकोटा, केन्द्रीय सदस्य सुवोध शेर्पाली, वागमती प्रदेश अध्यक्ष तथा प्रचण्डका पूर्वअंगरक्षक प्रकाश पाण्डे, स्वकीय सचिव रमेश मल्ललाई पनि संक्रमण भएको थियो ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह, नेताहरु हरिबोल गजुरेल, मात्रिका यादव, डोरप्रसाद उपाध्यायलगायतका नेतालाई पनि संक्रमण पुष्टि भएको थियो ।