बोल्यो कांग्रेस– लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै, कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ

बोल्यो कांग्रेस– लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै, कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ



काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूभाग भएको र लिपुलेकमा भारतले सडक निर्माण गर्नु‘ आपत्तिजनक रहेको बताएको छ ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार सातबुँदे संयुक्त धारणा सार्वजनिक गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूभाग भएको, ती भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्ने र लिपुलेकमा भारतले सडक निर्माण कार्य गर्नु‘ आपत्तिजनक भएको बताएका हुन् ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भनेर केही दिनअघि एक कार्यक्रममा व्यक्त गर्नु‘भएको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो, कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ ।’

ती भूमिका सम्बन्धमा कांग्रेसले विगतदेखि नै संस्थागत रूपले आफ्नो धारणा र अडान स्पष्ट रूपमा राख्दै आएको भन्दै कांग्रेसले सडक निर्माण कार्य रोक्न मागसमेत गरेको छ । ‘नेपाल–भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कूटनीतिक संवादबाट समाधानमा पुग्नेगरी भएको सहमतिविपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसैगरी, नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमासमेत कांग्रेसले जोड दिएको छ । सन् १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्वीकारोक्तिको तथ्य हो भन्नेमा प्रस्ट रहेको कांग्रेसको धारणा छ ।

कांग्रेसले संविधान संशोधनमार्फत संसद्ले अनुमोदन गरेको नयाँ नक्साको कार्यान्वयनसमेत हुनुपर्ने बताएको छ । राजनीतिक दलहरू एवं नेपाल सरकारसमेतको साझा अभिमतबाट नयाँ नक्सा अनुमोदन गरिएको भन्दै त्यसको कार्यान्वयनमा पनि कांग्रेसले मुख खोलेको हो ।