राष्ट्रियसभा निर्वाचन : कोरोना संक्रमितले पनि भोट हाल्न पाउने

राष्ट्रियसभा निर्वाचन : कोरोना संक्रमितले पनि भोट हाल्न पाउने



काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोरोना भाइरस (कोेभिड–१९) संक्रमितले पनि भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले भोट हाल्न पाउने व्यवस्था गर्ने भनिएको हो । त्यसको लागि मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गरिने आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए ।

उनले भने,‘कोरोना संक्रमित भएको भए पनि ऊबाट अर्को व्यक्तिलाई नसर्ने गरी भोट हाल्न पाउने व्यवस्था मिलाउने भन्ने भएको छ ।’ राष्ट्रियसभाको १९ सदस्यका लागि यही माघ १२ गते निर्वाचन हुँदैछ । राष्ट्रियसभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । निर्वाचन आयोगले ७ वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ ।