लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व फेर्ने कसरत, कांग्रेसले थाल्याे आन्तरिक गृहकार्य

लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व फेर्ने कसरत, कांग्रेसले थाल्याे आन्तरिक गृहकार्य



बुटवल । लुम्बिनी प्रदेशका सरकारको नेतृत्व फर्नेगरी कांग्रेसले आन्तरिक गृहकार्य थालेको छ । माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच कांग्रेस र माओवादीले आठ-आठ महिना सरकारको नेतृत्व गर्ने आन्तरिक समझदारी भएको थियो ।

केसी मुख्यमन्त्री बनेको आगामी १२ फागुनमा आठ महिना पुग्दैछ । आलोपालो सहमतिअनुसार त्यसपछि कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने हुन्छ । कांग्रेस नेताहरूले अहिले आलोपालो सहमतिलाई कोट्याएर नेतृत्व परिवर्तनको गृहकार्य थालेका छन् ।

आलोपालो सहमतिअनुसार अर्को महिना आफ्नो दलले नेतृत्व पाउने नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्विन खाँनले बताए । “आठ–आठ महिना सरकारको नेतृत्व गर्ने विषयमा दुई दलबीच समझदारी भएको हो, सोहीअनुसार फागुनमा हाम्रो नेतृत्वमा लुम्बिनी सरकार बन्ने कुरामा हामी स्पष्ट छौं”, उनले भने ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धनबाट केसी मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनभित्रको ठूलो दल कांग्रेससँग आलोपालोमा केसी आठ महिना मात्र मुख्यमन्त्री बन्ने सहमति छ । सहमतिअनुसार केसी नेतृत्वको सरकारको आयु अब एक महिना मात्र बाँकी छ ।

सहमति कार्यान्वयन भए फागुनपछि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने छन् । तर मुख्यमन्त्रीले भने सरकार फेरिंदा आलोचना बढ्ने भन्दै आलोपालो सहमति कार्यान्वयन गर्ने पक्षमा नरहेको उनी निकट नेताहरु बताउँछन् ।

“नेतृत्व परिवर्तनले गठबन्धन दलभित्रै असन्तुष्टि बढ्ने भएकोले अहिलेकै नेतृत्व कायम राख्ने गरी पहल थालेका छौं”, मुख्यमन्त्री केसी निकट एक नेताले भने । यसका लागि मुख्यमन्त्री केसीले कांग्रेसलाई थप केही मन्त्री दिएर भए पनि मनाउने प्रयास गरिरहेका छन् । तर मुख्यमन्त्री केसी नेतृत्वको सरकारले गरेका धेरै निर्णयहरूमा कांग्रेसभित्र असन्तुष्टि रहेकाले सरकार फेर्नैपर्ने अडानमा कांग्रेस नेताहरू छन् । “मुख्यमन्त्री केसीले गरेका विवादास्पद नियुक्तिहरूमा हाम्रो गम्भीर असहमति छ, तसर्थ आलोपालो सहमतिअनुसार नेतृत्व फर्नुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौं”, काँग्रेसका एक नेताले भने ।