सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने

सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार बिहान डाकेकाे सर्वदलीय बैठक अनिश्चित बनेकाे छ । प्रधानमन्त्रीकाे निजी सचिवालयले बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने जानकारी शुक्रबार दिएकाे थियाे ।

तर बिहान सवा १० बज्दा पनि बैठक बसेकाे छैन । एकमन्त्रीका अनुसार स्थानीय तहकाे निवार्चनबारे संवैधानिक र कानुनी जटिलता के कस्ता छन् भनेर विज्ञसँग परामर्श गरेर सर्वदलीय बैठक बस्ने भएकाे हाे ।

सत्तारुढ पाँ दल सम्मिलित राजनीतिक समन्वय समितिको बैठकमा नेकपा माओवादी र एकीकृत समाजवादीले स्थानीय तहभन्दा पहिले संघकाे निर्वाचन गर्नुपर्ने धारणा राखेका थिए भने त्यसयता मंसिरमा तीन तहकै निर्वाचनबारे छलफल भइरहेकाे छ ।

तर संविधान र कानुन अनुसार स्थानीय तह जनप्रतिनिधिविहीन बनाउन मिल्दैन । त्यसका लागि वैशाखमा चुनावका लागि मिति ताेक्न निर्वाचन आयाेगले सरकारलाई सिफारिस गरिसकेकाे छ ।

तर, गठबन्धन भने स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनमा बाझिएको दाबी गर्दै आएकाे छ । याे विषयमा विज्ञसँग छलफलमार्फत समाधान गर्ने गरिने भएकाे हाे ।

प्रमुख प्रतिपक्ष एमालेले संघकाे निर्वाचन पहिले कि स्थानीय तहकाे निर्वाचन भनेर टिप्पणी गरेकाे छैन । तर स्थानीय तहकाे निर्वाचन वैशाखमै हुनुपर्ने अडान राख्दै आएकाे छ । सर्वदलीय बैठकबारे जानकारी प्राप्त नभएकाे बताएकाे एमालेले शनिबार बिहान भनेकाे छ -स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा एमालेको किमार्थ सहमति नहुने धारणा स्पष्ट नै छ ।’