वैदेशिक रोजगारीमा कोरोना प्रभाव, विदेश जाने घटे

वैदेशिक रोजगारीमा कोरोना प्रभाव, विदेश जाने घटे



काठमाडौं । पछिल्लो महिना श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या घटेको छ । नेपालीका श्रम गन्तव्य देशमा कोरोनाको सङ्क्रमण दर बढेसँगै यसको असर देखिएको हो । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या मङ्सिर महिनाको तुलनामा पुस महिनामा साढे १० हजारले घटेको हो । मङ्सिरमा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएकामा पुस महिनामा ६३ हजार ८२५ जना मात्रै छन् ।

कोरोना सङ्क्रमणका कारण गत फागुनदेखि वैशाखसम्म ठप्पजस्तै भएको वैदेशिक रोजगारी असारदेखि गति लिन थालेको थियो तर पुनः कोरोना महामारीको नयाँ लहर आएपछि भने घट्न थालेको हो ।

विभागका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो छ महिनामा दुई लाख ९७ हजार ४०८ जनाले ९७ देशमा जानका लागि श्रम स्वीकृति लिएका छन् । साउनदेखि मङ्सिरसम्मको तथ्याङ्क हेर्दा श्रम स्वीकृति लिनेको सङ्ख्या बढदै गएको र पुसमा घटेको पाइएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको छ महिनामा सबैभन्दा धेरै मङ्सिरमा ७४ हजार ३५४ जना र सबैभन्दा कम साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिए । यसैगरी पुस महिनामा ६३ हजार ८२५ जना, कात्तिक महिनामा ५४ हजार ११८ जना, असोजमा ३९ हजार ६७१ जना र भदौमा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले गएको असारदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या क्रमशः बढेकामा पुसमा कोरोना सङ्क्रमण बढेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्यामा पनि घट्न थालेको बताए । पछिल्लो पटक नेपाल र नेपालीका श्रम गन्तव्य देशमा नयाँ भेरियन्टको कोरोनाको सङ्ख्या बढेकाले माघ महिनामा यसको सङ्ख्या अझै घट्ने उनको भनाइ छ ।

संस्थागत रूपमा श्रम स्वीकृति लिएर जाने बढे
विभागका अनुसार पछिल्लो महिना व्यक्तिगतभन्दा संस्थागत रूपमा श्रम स्वीकृति लिएर जानेको सङ्ख्या बढेको छ । पुस ६३ हजार ८२५ जनाले श्रम स्वीकृति लिएकामा महिनामा ३३ हजार २२५ जनाले संस्थागत श्रम स्वीकृति लिए भने ३० हजार ६०० जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएका छन् ।

मङ्सिर महिनामा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएकामा संस्थागत रूपमा ३१ हजारले मात्रै लिएका थिए भने ३९ हजार ३५४ जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

साउदी अरब जाने बढे
विभागका अनुसार पछिल्लो छ महिनामा नेपालीका प्रमुख गन्तव्य देश साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । पछिल्लो छ महिनामा साउदी अरब र कतारमा एक/एक लाख जना रोजगारीका लागि श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ । यस्तै यूएईमा पछिल्लो छ महिनामा ५८ हजार ११४ जना नेपाली कामदार रोजगारीका लागि गएका छन् । ओमान, कुवेत, माल्दिभ्स, रोमानिया, साइप्रस, बहराइनसहितका ९८ देशमा श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ ।