क्रिप्टो करेन्सी कारोबारमा संलग्न चारविरुद्ध ३७ करोड ६४ लाख रुपैयाँ बिगोसहित मुद्दा

क्रिप्टो करेन्सी कारोबारमा संलग्न चारविरुद्ध ३७ करोड ६४ लाख रुपैयाँ बिगोसहित मुद्दा



काठमाडौँ । राजश्व अनुसन्धान विभागले क्रिप्टो करेन्सीको कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ बिगो दाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

कैलालीको लम्किचुवा स्थायी घर भएका दिनेश खड्का, उनकी दिदी भगवती, बुबा नरबहादुर र साथी अनिता धितालविरुद्ध मुद्दा दायर गरिएको हो । विभागका अनुसार दिनेशले आफू र परिवारका सदस्यको नाममा क्रिप्टो करेन्सीको कारोबार गरेका थिए । दिनेशले आफ्नो बैङ्क अकाउन्टबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१ रुपैयाँको कारोबार गरेको दाबी गरिएको छ ।

यसैगरी भगवतीको बैङ्क खाताबाट २० करोड ४२ लाख ९४ हजार ५ सय २६ रुपैयाँ कारोबार भएको विभागको दाबी छ । नरबहादुरको बैङ्क खाताबाट एक करोड ६४ लाख ११ हजार एक सय ६६ रुपैयाँ र अनिताको खाताबाट ५ करोड ७७ लाख ६ हजार ८६ रुपैयाँको कारोबार भएको विभागले जनाएको छ ।

विभागका अनुसार क्रिप्टो करेन्सीको कारोबार ईस्कील, बाइनान्स नामक मोबाइल एप्लिकेन्सबाट भएको हो ।