भिजिट भिसामा दुबई पुर्‍याएर अलपत्र पार्नेलाई कुनै हालतमा छोडिदैन : श्रममन्त्री श्रेष्ठ

भिजिट भिसामा दुबई पुर्‍याएर अलपत्र पार्नेलाई कुनै हालतमा छोडिदैन : श्रममन्त्री श्रेष्ठ



काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा दुबई पुर्‍याउनेलाई कुनै हालतमा नछोड्ने बताएका छन् । आज (बिहीबार) मन्त्रालयमा भिजिट भिसामा दुबई पुगेर दुख पाएका पीडित युवाहरूसँगको छलफलका क्रममा उनले भिजिट भिसामा दुबई पुर्‍याइएका युवाहरूलाई नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जाँदा भिजिट भिसाको प्रयोग नगर्न आग्रहसमेत गरे । भिजिट भिसामा दुबई पुर्‍याउने गरेका विषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उनले यसलाई नियन्त्रण र अनुसन्धान गर्न सरकार गम्भीर भएर लागेको बताए । ‘भिजिट भिसा’मार्फत दुबईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित भएकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन भएको उनले जानकारी दिए ।

मन्त्री श्रेष्ठले मन्त्रालयले आगामी आइतबारदेखि २४ सै घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाइ कक्ष स्थापना गर्न लागेको पनि बताए । दुख पाएका नेपालीहरूको गुनासोका आधारमा दलालहरूलाई कारबाही गर्ने उनले बताए ।

त्यस क्रममा पीडित युवाहरूले आफूहरूले चर्को मूल्य तिरेर केही व्यक्तिमार्फत दुबई गएको र अलपत्र परेको गुनासो गरेका थिए । उनीहरूले आकर्षक तलबको बहानामा आफूहरूलाई झुक्काएको बताएका थिए । पछिल्लो एक वर्षमा मात्रै झन्डै ८० हजार नेपाली रोजगारी खोज्न भिजिट भिसामार्फत यूएई पुगेको अनुमान मन्त्रालयको छ ।