श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल



काठमाडौं । भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिणपूर्वी एसियाली मुलुक, युरोपेली तथा अमेरिकी मुलुक र अफ्रिकी महादेशका केही देशहरूमा गैरकानूनी रूपमा पु-याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारामा परेको गुनासो आइरहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो अपिल गरेको हो ।

राम्रो रोजगारी र आकर्षक तलब सुविधा पाउने लोभमा कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट वैदेशिक रोजगारीमा जान नमिल्नेतर्फ ध्यानाकर्षण गराउँदै मन्त्रालयले गन्तव्य मुलुकका बारेमा पूर्ण जानकारी लिई नियमअनुसार श्रम स्वीकृति प्राप्त गरी मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको हो ।

वैदेशिक रोजगारीको प्रलोभन देखाइ विदेशका कयौँ मुलुकमा नेपाली नागरिकलाई अलपत्र पारेको भनी इजाजतपत्र प्राप्त संस्था, शैक्षिक परामर्शदाता संस्था, ट्राभल्स एजेन्सी र विभिन्न विचौलियाविरुद्ध उजुरीहरू प्राप्त भएको श्रम मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले जानकारी दिए ।