बिमलको गोलमा नेपालले मौरिससलाई हरायो

बिमलको गोलमा नेपालले मौरिससलाई हरायो



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिसस विरुद्ध जित हासिल गरेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरे । विमलले ५५औं मिनेटमा गोल गरेका हुन् । उनले १८ यार्ड क्षेत्रबाट सानदार गोल गरे । एक वर्षपछि टिममा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् ।

अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा लाग्दै जाली चुमेको थियो । नेपालको लागि यो उनको नवौं गोल हो । सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका विमल सन् २०१९ को नोभेम्बरमा विश्वकप छनौट अन्तर्गत जोर्डनसँगको खेलयता राष्ट्रिय टोलीमा परेका थिएनन् ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । नेपालले अब मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण मंगलबार खेल्नेछ ।