थ्रीस्टारसँग मनाङ रोकिँदा मछिन्द्रलाई ६ अंकको अग्रता

थ्रीस्टारसँग मनाङ रोकिँदा मछिन्द्रलाई ६ अंकको अग्रता



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको १०औं चरणमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीमा रोकिएसँगै मनाङले शीर्ष स्थानको मछिन्द्रसँग अंक दूरी कम गर्ने मौका गुमायो ।

लिगमा १० खेलबाट २० अंक जोडेको मनाङ दोस्रो स्थानमा यथावत् छ । यस्तै समान खेलबाट १७ अंक जोडेको थ्री स्टार चौथो स्थानमा छ । तालिकाको शीर्ष स्थानमा आसीन मछिन्द्रले १० खेलबाट २६ अंक जोडेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला दयानन्द सिंहले गरेको गोलबाट मनाङले अग्रता बनाएको थियो । दयानन्दले ६२औं मिनेटमा मनाङलाई अग्रता दिलाएका थिए । उनी त्यसको एक मिनेटअघि मात्र मैदान प्रवेश गरेका थिए । दयानन्दले कप्तान अन्जन विष्टको क्रसमा ६ यार्ड बक्सबाट हेडमार्फत बललाई जाली चुमाए ।

गोल बेहोरेपछि आक्रामक बनेको थ्री स्टारका रितिकले गोल गर्दै टोलीलाई बराबरीमा फर्काएका थिए । सन्जोग राईको ७१औं मिनेटमा क्रसमा घनेफो रोमहले ब्याक पास मिलाउँदा बक्स बाहिरबाट रिततकले गरेको प्रहार बारमा लाग्दै गोल भएको थियो । त्यसअघि ३३औं मिनेटमा हेमन्त थापामगरले बायाँतर्फबाट गरेको क्रसलाई सन्जोग राईले फितलो प्रहार गोलकिपर अशोक बरालले बचाए ।

४०औं मिनेटमा मनाङका अफिज ओलावालले गोलको अग्रताको सुन्दर मौका खेर फाले । पूजन उपरकोटीको लङ पासमा ओलावालेले बक्सभित्रबाट थ्री स्टारका गोलकिपर एक्लै रहँदा गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो । ४९औं मिनेटमा मनाङका प्रवेश कुवरले गरेको क्रसमा ओलावालेको वान टच प्रहार पोस्टमाथिबाट बाहिरियो ।

नवौं चरणमा संकटाको अपराजित यात्रामा पूर्णविराम लगाउँदै थ्री स्टार शीर्ष चारमा उक्लिएको थियो । मनाङ भने नवप्रवेशी सातदोबाटो यूथ क्लबसँग २–१ ले स्तब्ध बनेको थियो । शनिबारनै भएको खेलमा सातदोबाटो र मछिन्द्र विजयी भए ।