गठबन्धन बैठक : अझैं जुटेन एमसीसी संसदमा पेस गर्ने सहमति

गठबन्धन बैठक : अझैं जुटेन एमसीसी संसदमा पेस गर्ने सहमति



काठमाडाैं । पाँच दलिय गठबन्धनका शीर्ष नेताहरुको आजको छलफलमा पनि अमेरिकी सहयोग एमसीसीसँगको सम्झाैंता संसदमा पेस गर्नेबारे सहमति जुट्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेस गर्नेबारेमा छलफल भए पनि सहमति नजुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा एमसीसी सम्झौंता संसदमा अघि बढाउने विभिन्न विकल्पहरूबारे छलफल भएको र प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको अब बस्ने बैठकमा सम्झौता पेस गर्ने प्रस्ताव गरेकोमा दाहाल र नेपालले अहिलेकै अवस्थामा एमसीसी अघि बढाउन नसकिने बताउनुभएको सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको बैठक पर्सि सोमबारका लागि बोलाइएको छ । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल आफैँले दिएको समयसीमा सकिन अब १५ दिन मात्रै बाँकी छ ।

प्रधानमन्त्री देउवा एमसीसी संसदमा पेस गर्ने योजनामा हुनुहुन्छ भने सत्तागठबन्धनका अरु मुख्य घटक माओवादी र नेकपा एकीकृत समाजवादी संसोधन बिना एमसीसी अघि नबढाउने अडानमा छन् । प्रमुख प्रतिपक्ष नेकपा एमाले एमसीसी सम्झौताबारेमा संसदमा छलफल हुनुपर्ने पक्षमा छ । तीन नेताबीच आज भएको छलफलमा मन्त्रीपरिषद पूर्णताका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।

यसैबीच प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो भनी प्रश्न गरेका छन् । प्रचण्डको प्रश्नमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि साथ दिएका थिए । सभामुख हटाउन हस्ताक्षर संकलन भएको हल्ला सुनेको भन्दै उनीहरुले प्रधानमन्त्रीको जवाफ मागेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले सभामुख हटाउने विषय सोच्न पनि नसकिने बताएका प्रचण्ड निकट नेताले बताएका छन् ।

प्रचण्ड र नेपालले फागुन २ गते बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन ४ गतेलाई सार्न उपयुक्त हुने बताएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले २ गतेको बैठक सार्न सभामुखलाई आग्रह गरिसकेको छ ।