फेरि समाते कमल थापाले गाईको पुच्छर

फेरि समाते कमल थापाले गाईको पुच्छर



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकीकरण महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले निर्मल निवासतर्फ धारे हात लगाउँदै पार्टीबाट अलग भएको घोषणा गरे । पार्टी त्याग गरेको एक साता पनि बित्न नपाउँदै निर्वाचन आयोगमा अस्तित्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) को अध्यक्ष बनेको घोषणा गरेका छन् ।

उनी अध्यक्ष बनेको यो पार्टी पहिले उनले नै विभिन्न चरणमा राप्रपा खण्डिकरण गराएर राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) निर्माण गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकीकृत महाधिवेशन हुनुभन्दा अघि पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाको तीनवटा राजनीतिक दल अस्तित्वमा थिए । राजनीतिक दलले राष्ट्रिय पार्टी बन्नका लागि संघीय निर्वाचनमा ३ प्रतिशत मत ल्याउनुपर्ने ऐन बन्यो । यो ऐन बनेपश्चात अर्थात् गत निर्वाचनमा राप्रपा राष्ट्रिय पार्टी बन्न सकेन ।

फुटेर होइन, जुटेर मात्र राष्ट्रिय पार्टी बन्न सकिन्छ भन्ने निष्कर्ष राप्रपाका शीर्ष नेताहरुले निकाले । पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले एकीकरण महाधिवेशन गरेर पार्टी एक बनाउने निर्णयमा पुगे । कमल थापाको राप्रपाले गाई चुनाव चिह्न त्याग गर्नुपर्ने भयो भने पशुपतिशमशेर र प्रकाशचन्द्र लोहनीले झन्डा त्याग गरे । एकीकृत राप्रपाको चुनाव चिह्न कमल थापाको झन्डाभित्र हलो अटाउने भयो । राप्रपा एकीकरण गर्ने कार्यक्रममा कमल थापाले कोटको खल्तीबाट गीताको पुस्तक निकालेर कार्यकर्तालाई देखाउँदै पार्टी नफुटाउने कसम पनि खाए ।

राप्रपा एकीकरणभन्दा अगाडि गाई चुनाव चिह्न लिएर कमल थापाले पार्टीलाई धेरै अगाडि बढाएका थिए । हिन्दू धर्म र राजासहितको प्रजातन्त्रको एजेन्डा लिएर संविधानसभाको दोस्रो निर्वाचनमा कमल थापाको पार्टी गयो । दोस्रो संविधानसभा निर्वाचनमा समानुपातितर्फ राप्रपाको राम्रै उपस्थित भयो । अर्थात् विभिन्न समयमा फुटेर जुटेर राप्रपा बनेको थियो, त्यसका नायक भए कमल थापा । त्यस्तो चुनाव चिह्न त्यागेर हलो चुनाव चिह्न लिन कमल थापा सहमत भए ।

एकीकरण महाधिवेशनभन्दा अगाडि केही समय कमल थापा ‘हलो’ चुनाव चिह्न भएको राप्रपाका अध्यक्ष बने । महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित ग-यो । आफ्नो पराजयको कारण निर्मल निवास भएको निष्कर्ष निकाल्दै पूर्वराजा ज्ञानेन्द्रविरुद्ध कमल थापा सन्नीपातको विरामीझै तथानाम बरबराउन थाले । पूर्वराजा ज्ञानेन्द्रलाई धित मरुन्जेल गाली मात्र गरेनन सँगसँगै गुटको भेला गर्न थाले । अन्ततः गुटले नयाँ राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) को अध्यक्ष बनाउने निर्णय ग-यो । उक्त दललाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ ।

गीता हिन्दूहरुको पवित्र ग्रन्थ हो । पार्टी नफुटाउने पवित्र ग्रन्थ गीताको कसम खाएका कमल थापाको आडम्बर विस्तारै छताछुल्ल हुँदैछ । मैले पार्टी फुटाएको छैन, पार्टीबाट अलग भएको तर्क गरिरहेका थापाको भावी राजनीति कसरी अगाडि बढ्छ त्यो हेर्न बाँकी नै छ ।