सिड्नीको नेपाल फेस्टिभलमा ढाकाटोपी लगाएर पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज

सिड्नीको नेपाल फेस्टिभलमा ढाकाटोपी लगाएर पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज नेपाली ढाका टोपीमा सजिएर सिड्नीमा आयोजित नेपाल फेस्टिभलमा सहभागी भएका छन् ।

शनिबार आयोजित महोत्सवमा उनले नेपाली समुदायसँग तिहारको खुसी साट्दै अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपालीहरूको योगदानको प्रशंसा गरेका छन् ।

सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा आयोजित ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ मा सहभागी प्रधानमन्त्री अल्बानिजले नेपाली समुदायसँग तिहार मनाउन पाउँदा खुसी लागेको बताएका हुन् ।

उनले विविधतालाई अस्ट्रेलियाको शक्तिका रूपमा उल्लेख गर्दै नेपाली समुदाय त्यसको महत्त्वपूर्ण हिस्सा रहेको बताए । नेपाली समुदायको सांस्कृतिक पहिचानप्रति सम्मान व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत समेत महोत्सवमा सहभागी भएको अनुभव सार्वजनिक गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आयोजनामा भएको महोत्सवमा नेपाली कला, संस्कृति, परम्परा, भेषभूषा तथा मौलिक पहिचान झल्काउने विभिन्न प्रस्तुति समावेश गरिएको थियो । महोत्सवमा नेपाली समुदायसँगै अस्ट्रेलियाली नागरिक तथा अन्य समुदायका व्यक्तिको समेत सहभागिता रहेको थियो ।

तिहारको अवसर पारेर आयोजित महोत्सवमा देउसीभैलो, नेपाली गीतसंगीत, नृत्य तथा सांस्कृतिक कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको थियो । नेपालबाट पुगेका कलाकार र स्थानीय नेपाली कलाकारका प्रस्तुतिसमेत कार्यक्रमका आकर्षणका रूपमा राखिएका थिए ।

यस वर्षको महोत्सवमा नेपाल र अस्ट्रेलियाबीचको मित्रता तथा पारस्परिक सद्भावलाई समेत विशेष महत्त्व दिइएको थियो । नेपालमा पछिल्लो समय आएको बाढीका बेला अस्ट्रेलियाले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्ने कार्यक्रमसमेत आयोजकले तय गरेका थिए ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्वयं नेपाली मौलिक पोसाकमा सार्वजनिक कार्यक्रममा सहभागी हुनुलाई नेपाली समुदायको सांस्कृतिक पहिचानप्रतिको सम्मानका रूपमा हेरिएको छ । महोत्सवले प्रवासमा रहेका नेपालीलाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्नुका साथै नेपाल र अस्ट्रेलियाबीचको जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने अवसर प्रदान गरेको छ ।