४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादलाई आठ लाखको चेक

४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादलाई आठ लाखको चेक



झापा । अनाहकमा भारतमा ४० वर्ष जेल जीवन बिताएका इलाम माई नगरपालिका-१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई आठ लाखको चेक हस्तान्तरण गरिएको छ ।

क्षतिपूर्तिवापत भारत सरकारले उपलब्ध गराएको पाँच लाख भारतीय रुपैयाँ (आठ लाख नेपाली रुपैयाँ) आइतबार हस्तान्तरण गरिएको हो । गत वर्षकाे मंसिरमा कोलकाताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई तत्काल पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको थियो ।

सोहीअनुसार भारत सरकारले दिएको चेक आइतबार कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले झापाको काँकडभिट्टामा हस्तान्तरण गरे । उनले उच्च अदालतले तत्काल उनको शारीरिक, मानसिक अवस्था हेरेर र जेल प्रशासनले दिन मिल्ने गरी पाँच लाख भारतीय रुपैयाँ दिएको बताए । यद्यपि क्षतिपूर्तिका लागि भने अब मात्र प्रक्रिया सुरु हुने उनले बताए ।

दार्जेलिङकी एक महिलाको हत्या आरोपमा ४० वर्षविना सुनुवाइ जेल जीवन बिताएका उनलाई गत चैतमा उच्च अदालत कोलकाताले उनको शारीरिक र मानसिक अवस्था कमजोर भएको भन्दै छाड्न आदेश दिएको थियो । उनको अवस्थाबारे महावाणिज्य दूतावासले ६/६ महिनामा अदालतलाई जानकारी गराउँदै आएको छ ।