कोरोना नियन्त्रणमा २३ अर्बभन्दा बढी खर्च

कोरोना नियन्त्रणमा २३ अर्बभन्दा बढी खर्च



काठमाडौं । सरकारले पछिल्लो डेढ वर्षमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा २३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार उक्त रकम संघ, प्रदेश र स्थानीय तहबाट कोरोना नियन्त्रणमा खर्च भएको हो ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ खर्च भइसकेको छ । २०७८ साउन देखि पुस मसान्तसम्म उक्त खर्च भएको अर्थ मन्त्रालयएको जनाएको हो ।

चालु आर्थिक वर्षको सुरुवाती ६ महिनामा संघले ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ, प्रदेशले १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ र स्थानीय तहले ६ करोड ६६ लाख रुपैयाँ खर्च गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा कूल १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको अर्थको तथ्याङ्कले देखाउँछ। अघिल्लो वर्ष संघ मार्फत १० अर्ब ७३ करोड १८ लाख रुपैयाँ, प्रदेश मार्फत २ अर्ब २८ करोड ४७ लाख रुपैयाँ र स्थानीय तह मार्फत २९ करोड ७८ लाख रुपैयाँ खर्च भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख ४७१ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये ९ लाख ३८ लाख ५८३ जना निको भइसकेका छन् । कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार ८९२ जनाको मृत्यु भएको छ । विश्वमा पहिलो पटक कोरोना भाइरसको संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो । नेपालमा २०६६ माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए ।