इन्टरविरुद्ध लिभरपुलको जित

इन्टरविरुद्ध लिभरपुलको जित



लन्डन । इंग्लिस क्लब लिभरपुलले यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेकाे छ । इटालीको सान सिरोमा बिहीबार बिहान भएको खेलमा लिभरपुलले २-० जित निकालेकाे हाे । उसका रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले १-१ गाेल गरे ।

याेसँगै लिभरपुलले तीन अंक जोडेको छ । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । रोबर्टोले खेलको ७५औं मिनेटमा गोल गरे । ८३औं मिनेट सलाहले गोल गर्दा लिभरपुल अन्तिम आठ नजिक रह्यो । अब दोस्रो लेगका लागि लिभरपुलले इन्टरलाई २२ मार्चमा आतिथ्य गर्नेछ ।

बायर्न साल्जबर्गसंग रोकियो
जर्मन क्लब बायर्न म्युनिख यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा रेडबुल साल्जबर्गसंग १-१ गोलको बराबरीमा रोकिएको छ । अस्ट्रियाको साल्जबर्गस्थित रेडबुल एरिनामा बिहीवार बिहान भएको खेलमा भ्रमणकारी टोली बायर्न अंक बाढ्न बाध्य भयो । यद्यपि, अवे गोलको फाइदा भने उठायो ।

खेलको २१औं मिनेट घरेलु टोली साल्जबर्गका चुकवुबुइके एडामले गोल गर्दै अग्रता बनाए । तर किङ्स्ले कोमानले ९०औं मिनेटमा गोल गर्दै बायर्नको हारबाट उद्दार गरे । अब दोस्रो लेगका लागि बायर्नले साल्जबर्गलाई २२ मार्चमा आतिथ्य गर्नेछ ।