नक्कली प्रमाणपत्र मुद्दामा फुटबलर हरि खड्का दोषी ठहर, ५ हजार जरिवाना

नक्कली प्रमाणपत्र मुद्दामा फुटबलर हरि खड्का दोषी ठहर, ५ हजार जरिवाना



काठमाडौं । विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्कालाई शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको मुद्दामा दोषी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले पूर्व कप्तान खड्कालाई दोषी ठहर गरेको हो ।

दोषी ठहरसँगै अदालतले उनलाई ५ हजार जरिवाना सुनाएको छ । अख्तियारले गत माघ १२ गते खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेपाल प्रहरीमा जागिर खान पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि अख्तियारले खड्काविरुद्ध मुद्दा दायर गरेको हो ।

खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को प्रमाणपत्र पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए ।