सप्तरीमा मिस्टर एण्ड मिस कलेज आइकन हुँदै

सप्तरीमा मिस्टर एण्ड मिस कलेज आइकन हुँदै



सप्तरी । सप्तरीमा पहिलो पटक मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन हुने भएको छ । किशोरकिशोरीको क्षमता विकास र अभिवद्धिका लागि मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन गराउन लागेको आयोजकले जनाएको छ। रक्षा मिडिया हाउस प्रालि काठमाडौँले आइकनको अन्तिम तयारी अन्तर्गत आइतबार फाइनलका लागि १७ जना छनोट गरेको जनाएको छ ।

उनीहरूलाई निर्णायकको अन्तर्वार्ता, वाककला, प्रश्नोत्तर, व्यक्तित्व आदिबाट छनोट गरेको आयोजक लायन्स क्लब अफ राजविराज सिटीले जनाएको छ । प्रतियोगिताका लागि नेपाल पत्रकार महासङ्घ सप्तरीका सल्लाहकार मनोहर पोखरेल, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष अनिता देवकोटा, युवा उद्यमी मिलन सिंह, राजविराज जेसीजकी पूर्व अध्यक्ष पुनम पोखरेलले सहभागीसँग अन्तर्वार्ता लिएका थिए।

राजविराजमा हुने ग्राण्ड फिनाले कार्यक्रमबाट मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन– २०२२ छनोट गर्नेछ ।
फाइनलका लागी तयारी भइरहेको लायन्स कल्ब अफ राजविराज सिटीका अध्यक्ष अरुण प्रधानले जानकारी दिए । उनले आगामी शनिबार राजविराजको शिवशङ्कर सिनेमा हलमा हुने फाइनलका लागि टिकट बिक्रीसमेत खुला गरिएको बताएका छन्।

राजविराज बजार केन्द्रित मात्र नभइ विभिन्न पालिकाका सहभागीलाई एक महिनासम्म कोरियोग्राफर, फोटोग्राफर, डान्सर र विभिन्न विषयका विज्ञ प्रशिक्षकबाट तालिम दिइएको रक्षा मिडिया हाउस प्रालिले जनाएको छ।

सहभागीको व्यक्तित्व विकासका लागि सामाजिक रहनसहन, नैतिक जिम्मेवारी, वाककला, सामाजिक उत्तरदायित्व, जीवनशैली, कलासंस्कृति, बोलीचाली, मानव अधिकार, ट्राफिक नियम, मनोवृति, क्याटवाकका विषयमासमेत विशेषज्ञबाट प्रशिक्षित गराइएको छ ।

प्रतियोगितामा विजेतालाई शनिबार ताजसहित क्राउन, प्रमाणपत्र, उपहारसहित मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन घोषणा गरिनेछ । प्रचार विज्ञापन गराउँदै आएको प्रालिले अभिभावकको मञ्जुरी भएमा आइकन बिजेतालाई म्युजिक भिडिओका लागि समेत मौका दिने जनाएको छ ।

यसअघि राजविराज जेसीजको आयोजना र प्रशिक्षक भुवन राउतकै निर्देशनमा पहिलो पटक राजविराज लिटिल आइकन–२०२१ सफलतापूर्वक सम्पन्न भएको थियो । रक्षा मिडिया हाउस प्रालिले नेपालको झापा, इलाम, उदयपुर, सुर्खेतलगायातका जिल्लाको सहरमा यसअघि पनि विभिन्न प्रतिभामूलक आइकन प्रतियोगिता गरिसकेको आयोजकले जनाएको छ ।

राजविराज लिटिल आइकन २०२१ का विजेता आयुषी र उपविजेता मानसीको समेत अन्तर्वार्तामा उपस्थिति रहेको थियो ।